महेन्द्रनगर ३१ जेठ । कञ्चनपुरको भीमदत्त नगरपालिकाले अगामी आर्थिक वर्ष २०७८/७९ को नीति, कार्यक्रम तथा बजेटबारे सरोकारवाला निकायसँग छलफल तथा परार्मश बैठक अगाडी बढाएको छ । नगरपालिकाले कोरोना संक्रमणका कारण भर्चुअल माध्यमबाट परामर्श बैठक सुरु गरेको हो ।
सोमबार भीमदत्त नगरपालिकाको आगामी आ.व. २०७८।०७९ को नीति, कार्यक्रम एवं बजेटका सम्बन्धमा नागरिक समाज संस्था तथा गैरसरकारी संघ संस्थाहरुसँग परामर्श बैठक सम्पन्न गरेको छ ।
उक्त परामर्श बैठकको मुख्य एजेण्डा भीमदत्त नगरपालिका क्षेत्र भित्र सक्रिय रहेका संस्थाहरुको वार्षिक कार्यक्रम भीमदत्त नगरपालिकाको नगर सभाबाट स्वीकृत गराइ भीमदत्त नगरपालिकासँगको समन्वय र सहकार्यमा कार्यान्वयन गर्नु रहेको थियो ।
भीमदत्त नगरपालिकाको सामाजिक न्याय सहितको दिगो समृद्धि र विकासका लागि स्थानीय सरकार, निजी क्षेत्र, सहकारी र विकासको साझेदारका रुपमा रहेका गैरसरकारी संस्थाहरुको समन्वय र सहकार्य आवश्यक देखिएको सन्दर्भमा यो छलफल तथा अन्तरक्रिया कार्यक्रमले नीति तथा कार्यक्रम तर्जुमा देखि यसको कार्यान्वयन चरणसम्म सहयोग पुग्ने अपेक्षा लिएको छ ।
परामर्श बैठकमा छलफल भएका प्रमुख विषयहरु
१. कोभिड १९ विरुद्धको खोप, कोभिड पछिको राहत कार्यक्रम, आर्थिक पुनरुत्थान कार्यक्रम, बालबालिकाका लागि संवेदनशील मानिएको कोभिड १९ को तेस्रो लहरको तयारी
२. नीति तथा कार्यक्रम र योजना बिच तालमेल
३. वर्षायामको विपद् व्यवस्थापन कार्ययोजना
४. समावेशीकरण
५. यौनिक तथा अल्पसंख्यक समुदायहरुका लागि कार्यक्रम
६. द्वन्द्व पिडित र पिछडिएका वर्गका लागि कार्यक्रम
७. अपाङ्गता भएका महिलाहरुलाई समेत समेट्नु पर्ने
८. एचआईभी संक्रमित बालबालिकाहरुको उत्थान
९. सामाजिक उद्यमशीलता विकास
१०. सामुदायिक संस्थाहरु परिचालन गर्ने नीति
११. लागू औषध विरुद्ध सचेतना अभियान ।