महेन्द्रनगर, ३० मंसिर
भीमदत्त नगरपालिका वडा नं. ३ मा पर्ने विष्णु मन्दिर साकेत धाममा पदमार्ग भएर जान सकिने भएको छ । भीमदत्त नगरपालिकाको प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत चालु आर्थिक वर्षमा बैजनाथ माध्यमिक विद्यालय नजिकको झोलुङ्गे पुलबाट विष्णु मन्दिरसम्म पदमार्ग बनाउन लागिएको हो ।
भीनपा ३ वडा कार्यालयले यस वर्ष पदमार्ग निर्माणको योजना छनौट गरेको छ । भीमदत्त नगरपालिकाका प्राविधिकहरुले योजनाको स्टिमृट तयार गरेका छन् । भीनपा ३ का वडा अध्यक्ष राम बहादुर जप्रेलले प्रधानमन्त्री रोजागर कार्यक्रमका लागि योजना छनौट गरी पदमार्गको इष्टिमेट गरिएको बताउनु भयो । ‘यो योजना छनौट गरी इष्टिमेट गरिएको छ,’ वडा अध्यक्ष जप्रेलले भन्नु भयो ।
भीनपाका सव इन्जिनियर पवन लेखक सहितका प्राविधिक केही दिन अघि इष्टिमेट गर्नु भएको हो । विष्णु मन्दिर साकेत धाम धार्मिक, पर्यटकीय र ऐतिहासिक महत्त बोकेको स्थान हो । भम्केनी धाम र रौटेला क्षेत्रको बिचमा पर्ने यो क्षेत्रलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न पूर्वाधार निर्माणका कार्य अघि सारिएका हुन् ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्र्तगत यस वर्ष भीनपा ३ मा बैजाथ माविको पर्खाल निर्माणको योजना पनि छनौट गरिएको छ । भीमदत्त नगरपालिकाका गत वर्षदेखि प्रधानमन्त्री रोजागर कार्यक्रम सञ्चालनमा आएको हो ।