महेन्द्रनगर । महेन्द्रनगर बजारका पाँचै गल्लीमा नाली सहितका पक्की सडक निर्माण सुरु गरिने भएको छ । कोरोना महामारीका कारण ठेक्कापछि केही समयपछि धकेलिएको निर्माण असार तेस्रो सातादेखि सुरु हुन लागेको हो ।
मदत्त नगरपालिकामा शुक्रबार भएको बैठकमा निर्धारित समयभित्र निर्माण पूरा गरी कार्य सुरु गर्ने निर्णय गरिएको छ ।
महेन्द्रनगर बजारलाई आधुनिक सहरका रुपमा विकास गर्ने लक्ष्यका साथ क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत बजारका सबै गल्लीमा नाली सहितका सडक बनाउन लागिएका हुन् । त्यसका लागि गत वर्ष एक अर्ब ७६ करोडको टेण्डर आव्हान गरिएको थियो ।
भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले महेन्द्रनगर बजारलाई व्यवस्थित र आधुनिक बनाउन नाली सहित ठूलो लगानीमा पक्की सडक निर्माण सुरु गर्न लागिएको बताउनु भयो ।
‘कोरोाना महामारीका कारण केही ढिलो भएको छ, ठेक्का बन्दोवस्ती भई सकेको छ, क्षेत्रीय सहरी विकास आयोजना सहितको बैठकबाट निर्धारित समयभित्र निर्माण सम्पन्न गर्ने गरी निर्माण सुरु गर्ने निर्णय भएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘त्यसका आधारमा कार्य सुरु भएर समयमा सम्पन्न हुन्छ ।’
बजारका पाँचै गल्लीमा १३ दशमलव ८५ किलोमिटर नाली सहित सडक निर्माण गर्ने योजना छ । क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत भीमदत्त नगरपालिकामा ३५ किलोमिटर नाली सहित पक्की सडक निर्माण गरिनेछ । त्यसमध्ये पहिलो चरणमा बजार क्षेत्रमा सडक बनाउन लागिएको हो ।
‘पहिलो चरणमा पाँच ओटै गल्लीमा नाली सहित उच्च गुणस्तरीय सडक बनाउन लागेको छौ, त्यसपछि अरु सडक पनि बनाउँछौ’ नगर प्रमुख विष्टले भन्नु भयो । भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले पहिलो नगर सभाबाटै महेन्द्रनगर बजारलाई व्यवस्थित र सुदूरपश्चिमको नमूना सहर बनाउने निर्णय गर्नु भएको थियो । महेन्द्रनगर सुदूरपश्चिम प्रदेशमा गुरु योजनाद्वारा निर्माण गरिएको व्यवस्थित सहर हो ।
नाली सहितका पक्की सडकका लागि सबै पूराना सडक भत्काइने भएका छन् । सडक निर्माणसंगै फुटपाथ समेत हटाइने भएको छ । नगरपालिकाका अनुसार सबै सडक ७ दशमलव ५० मिटर चौडा आधुनिक कालोपत्रे गरिनेछ । ‘अहिले हामीले बनाएका सडकको स्तरभन्दा कैयौँ गुणा अब बन्ने सडक गुणस्तरीय हुने छन्,त्यसमा प्रतिकिलोमिटरमा ठूलो लगानी हुन्छ’ मेयर विष्टले भन्नु भयो ।
भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले चरण अन्तर्गत बनाइने सडक प्रभावकारी भएसँगै नगरका अन्य ग्रामीण भेग जोड्ने सडक समेत निर्माण गरिने बताउनु भयो । ‘महेन्द्रनगर बजार चिटिक्क बनेसँगै भारतीय पर्यटकका लागि नेपाल थप पर्यटकीय गन्तव्य बन्ने अपेक्षा गरिएको छ’ प्रमु्ख प्रशासकीय अधिकृत भट्टले भन्नु भयो ।
पश्चिमी सीमा नाकाको सहर महेन्द्रनगर भारतको राजधानी दिल्लीदेखि झण्डै तीन सय ५० किलोटिर दूरीमा छ । महेन्द्रनगरमा गत वर्ष आधुनिक वसपार्क निर्माण गरी सञ्चालमा आएको छ । भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माण, सडक निर्माण लगायतका योजना छन् ।
भीनपाका मेयर विष्टको अध्यक्षतामा शुक्रबार बसेको बैठकमा नगर उप प्रमुख सुशीला चन्द सिंह, भीनपाका प्रमुख प्रशासकीय अधिकृत पुस्कार प्रसाद भट्ट, क्षेत्रीय सहरी विकास आयोजना आयोजना कार्यान्वयन ईकाईका प्रमुख परिक्षित कडरिया, लगायत परामर्शदाता, निर्माण व्यवसायी, प्राविधिक लगायतका सहभागी भएका छन् ।