महेन्द्रनगर, १४ चैत
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कञ्चनपुरका अध्यक्ष बीर बहादुर थापा पातलले कोरानो भाइरस (कोभिड १९) संक्रमण विरुद्ध मनोबल बलियो बनाउने सन्देश प्रवाह गर्न सामाजिक सञ्जाल प्रयोगकर्ताहरुलाई आग्रह गर्नु भएको छ ।
अध्यक्ष थापाले आफ्नो सामाजिक सञ्जालमा प्रयोगकर्ताहरुले आफ्ना पूरानो तस्बिर पोष्ट गरिएकोमा चासो व्यक्त गर्दै अनुशाससित भएर कोरोना संक्रमणबाट बच्न सकिने उल्लेख गर्नु भएको छ ।
‘लकडाउनको यो चरणमा साथीहरुले पुरानो फोटोहरु पोष्ट गरेर के सन्देश दिनु खोज्नु भएको हो ? बुझुनु गाह्रो भो । मैले त्यसो गरिन’ अध्यक्ष थापाले फेसबुकमा लेख्न भएको छ,‘त्रासपूर्ण समयमा सबैको मनोबल उठाउने खालका सन्देश दिने गरी हाम्रा क्रियाकलाप हुन जरुरी छ ।’
नेपालीहरु अहिलेसम्मका सबै लडाई जित्दै आएकाले कोरोना विरुद्ध अनुशासित भएर लडाई जित्न सकिने उल्लेख गर्दै अध्यक्ष थापाले सबै जनतालाई सरकारको निर्णय पालना गर्न आह्वान गर्नु भएको छ । नेकपा अध्यक्ष अध्यक्ष थापाले सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई सहयोग गरी कोरोना विरुद्धको लडाईमा सबैले सहयोग गर्नु पर्नेमा जोड दिनु भएको छ । कोरोना रोकथामका लागि गरिएका प्रयास पर्याप्त नभए सुझाव दिन आग्रह गर्दै अध्यक्ष थापाले समाजलाई आतंकित बनाउने कार्य नगर्नु सबैमा आव्हान गर्नु भएको छ ।