महेन्द्रनगर, ७ चैत
सुदूरपश्चिम प्रदेश सरकारले कोराना भाइरस(कोभिड १९) संक्रमण रोकथामको भावी रणनीति बनाउन स्थानीय सरकारका प्रमुखसित छलफल गरेको छ । मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयले शुक्रबार बैठक गरी कोरोना संक्रमण रोकथामको प्रगति समीक्षा र भावी रणनीति सम्बन्धि छलफल गरेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोलन भट्टको अध्यक्षतामा गरिएको बैठकमा सामाजिक विकास समितिका सभापति, सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी, आन्तरिक मामिला मन्त्री प्रकाश शाह, धनगढी उप महानगरपालिकाका नगर प्रमुख नृप ओड, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्र रावल सहभागी हुनु भएको छ ।
कार्यक्रममा प्रदेश सरकारले सहित तीन ओटै स्थानीय सरकारमा कोरोना संक्रमण रोकथामका लागि गरेको कामको प्रगति प्रस्तुत गरिएको छ । प्रदेश सरकारले कोरोना भाइरस संक्रमण देखिएपछि सुदूरपश्चिम प्रदेशका रोकथाम र पूर्व तयारीका लागि मुख्यमन्त्री भट्टको संयोजकतवमा कोरोना (कोेभिड १९) समन्वय तथा निर्देशक समिति गठन गरेको छ ।
कार्यक्रममा कोरोना रोकथामका लागि आगामी दिनमा अपनाइने रणनीतिका विषयमा छलफल गरिएको भीमदत्त नगरपालिका नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिनु भयो । कार्यक्रममा भीमदत्त नगरपालिका नगर प्रमुख विष्टले कोरोना रोकथामका लागि गड्डाचौकी सहित नाकामा हेल्थ डेस्क सञ्चालन, जनचेतना मुलक प्रसार, क्वारेन्टाइनका लागि स्थान छनौट, सीमा नाकामा निरन्तर अनुगमन लगायतका कार्यक्रम भई रहेको जानकारी दिनु भयो ।
भीमदत्तले कोरोना विरामीका लागि आइसिएचको भवनमा क्वारेन्टाइन बनाउने र महाकाली अस्पतालमा आइसोलेसन कक्ष व्यवस्थापन गर्न लगायत कार्यलाई प्राथमिकता दिएको छ । नगरपालिका कार्यालयमा सरोकारवाला निकाय सहितको बैठकले क्वारेन्टाइने स्थापना गर्ने निर्णय गरेको थियो ।
यसैगरी सामाजिक विकास मन्त्रालयले कोरोना रोकथामका लागि १८ बुँदे मन्त्री स्तरीय निर्णय गरी कार्यान्वयनका लागि सबै निकामा पत्राचार गरेको छ । प्रदेश सरकारले धनगढीस्थित सेती प्राविधिक शिक्षालयको छात्राबासलाई आइसोलेसनका रुपमा प्रयोग गर्ने, अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने, प्रदेशमा २९ हेल्थ डेस्क स्थापना गरिएको, जनशक्ति र उपकरण व्यवस्थापन गरिएको लगायतका कार्यहरु गरिएको जानकारी दिइएको छ ।