• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

क्षेत्रीय सहकारी विकास आयोजना सफल बनाउने सर्वदलीय निर्णय

Byभीमदत्त अनलाइन

२९ कार्तिक २०७६, शुक्रबार १२:१० २९ कार्तिक २०७६, शुक्रबार १२:१० २९ कार्तिक २०७६, शुक्रबार १२:१०

महेन्द्रनगर, २९ कार्तिक
कञ्चनपुरका सबै राजनीतिक दलहरुले भीमदत्त नगरपालिकामा सञ्चालित क्षेत्रीय सहरी विकास आयोजना सफल बनाउन सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । भीमदत्त नगरपालिकाकाले क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयनका लागि राजनीतिक दल सहित आयोजना गरेको सर्बदलीय सर्वपक्षीय बैठकमा नेताहरुले आयोजना कार्यान्वयनका लागि प्रतिबद्धता गरेका हुन् ।

सर्बदलीय सर्वपक्षीय बैठकमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरम लगायत दलका नेताहरुले क्षेत्रीय सहरी विकास आयोजना भीमदत्त नगरपालिका विकासका लागि आवश्यक भएकाले सहयोग गर्नेमा जोड दिएका छन् ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले क्षेत्रीय सहरी विकास आयोजना सफल कार्यान्वयनका लागि सबै राजनीतिक दलहरुबाट सहयोगको प्रतिबद्धता आएको बताउनु भयो । ‘भीमदत्तको समृद्धि र विकासमा क्षेत्रीय सहरी विकास आयोजनाको महत्वपूर्ण भूमिका हुनेछ, यो आयोजनालाई सफल बनाउन आ–आफ्नो क्षेत्रबाट सबैले साथ र सहयोग गर्ने कुरा भयो’ नगर प्रमुख विष्टले भन्नु भयो ।

भीमदत्तको विकास र समृद्धिका लागि राजनीतिक दल सहित सबै क्षेत्रसित सहकार्य र साझेदारी गरी जाने नगरको नीति अनुसार क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयनकाल लागि सबै दलहरुसित संयुक्त रुपमा छलफल गरिएको नगर प्रमुख विष्टले बताउनु भयो । राजनीतिक दल सहित सबै क्षेत्रको साथ र सहयोग लिएर क्षेत्रीय सहरी विकास आयोजनाका निर्धारित समयमै सम्पन्न गरिने नगर प्रमुख विष्टले बताउनु भयो ।

सर्बदलीय सर्वपक्षीय बैठकमा सहभागी नेकपाका जिल्ला अध्यक्ष बीर बहादुर थापा, नेपाली काँग्रेसका जिल्ला सचिव ईश्वरी प्रसाद जोशी, राष्ट्रिय जनमोर्चाका अध्यक्ष राम बहादुर कार्की, राजपाका अम्बा तिवारी, संघीय समाजवादी फोरमका सीता नागरीले आयोजनाका सफल बनाउन सबैले सहयोग गर्ने प्रतिवद्धता जनाउनु भयो ।

नगर प्रमुख विष्टको अध्यक्षतामा गरिएको बैठकमा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिह, पूर्व नगर उप प्रमुख ईश्वरी प्रसाद खरेल, भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट, इन्जिनियर हिमालय सिह ऐर, क्षेत्रीय सहरी विकास आयोजनाका नरेन्द्र राज जोशी लगायत सहभागी हुनु भएको थियो ।

एशियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा भीमदत्त नगरपालिका सहित सुदूरपश्चिम प्रदेशका धनगढी उप महानगरपालिका, गोदावरी नगरपालिका र शुक्लाफाँटा नगरपालिकामा पूर्वाधार निर्माण र संस्थागत सृदृढीकरणका लागि क्षेत्रीय सहरी विकास आयोजना सञ्चालन गरिएको हो । पाँच वर्षसम्म सञ्चालन हुने यो आयोजना सन् २०२२ सम्पन्न हुनेछ ।

भीमदत्त नगरपालिकामा आयोजना अन्र्तगत ढल विकास, सहरी सडक निर्माण र फोहर व्यवस्थापन प्रणाली सुधारका लागि एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका योजना छनौट गरिएका छन् । आयोनना अन्र्तगत भीमदत्तमा सञ्चालन हुने योजनामा तीन अर्ब रकम खर्च हुनेछ ।

सहरी सडक निर्माण अन्र्तगत ३६ दशमलव ६ किलोमिटर नाली सहित पक्की सडक निर्माण हुने योजना छ । भीमदत्त नगरपालिकामा सहरी सडकको ३६ दशमलव ६ किलोमिटरमध्ये पहिलो चरणमा १३ दशमलव ८५ किलोमिटर सडक निर्माणका लागि ठेक्का आह्वान गरिएको छ ।

भीमदत्त नगरपालिकाको मुख्य बजार क्षेत्रका सबै गल्लीका सडक निर्माणका लागि गत महिना एक अर्ब ७६ करोडको ठेक्का आव्हान गरिएको थियो । सर्बदलीय सर्वपक्षीय बैठकमा आयोजनाका अन्र्तगत छनौट गरिएका सबै योजना सफल बनाउन सबै दलहरुले एक भएर जाने निर्णय समेत गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *