महेन्द्रनगर, ३ भदौ
भीमदत्त नगरपालिकाले खुला मञ्च व्यवस्थित गर्नका लागि निर्देशिका बनाएको छ । नगरपालिकाले खुला मञ्चका लागि सार्वजनिक खुला मञ्च व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७६ बनाएको छ । नगर कार्यपालिकाको ३६ औं बैठकबाट आइतबार निर्देशिका पारित गरिएको छ । स्थानीय राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आउनेछ ।
भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिह धामीले खुला मञ्चलाई कानुनी रुपमा व्यवस्थित र संरक्षण गर्नका लागि निर्देशिका बनाइएको बताउनु भयो । ‘यो निर्देशिका कार्यपालिकाबाट पारित गरिएको छ, अब स्थानीय राजपत्रमा प्रकाशन गरी कार्यान्वयनमा आउँछ’ सूचना अधिकारी धामीले भन्नु भयो ।
खुला मञ्च व्यवस्थापन पहिलो पटक कानुनी रुपमा गरिएको छ । यस अघि २०७२ नगरपालिकाले मञ्च प्रयोगको शुल्क निर्णय गरेको थियो । ५ परिच्छेदको निर्देशिकाको परिच्छेद २ मा खुला मञ्च प्रयोग र स्वीकृति, ३ मा सञ्चालन शुल्क, ४ मा मञ्चको संर्वद्धन र सरसफाई सम्बन्धी व्यवस्था गरिएको छ ।
नगरपालिका कार्यालयले एक महिनासम्मका लागि मञ्च प्रयोग गर्न स्वीकृत दिन सक्ने निर्देशिका व्यवस्था गरिएको
छ । १५ दिनसम्मका लागि कार्यालय र त्यसपछि १५ दिनका लागि नगर कार्यपालिकाको निर्णय अनुसार प्रयोगका लागि दिन सकिने उल्लेख छ । ५० हजार बढीको क्षमताको मञ्च १० बिगाहा जमिन ओगटेको छ । मञ्चको पूर्वी क्षेत्रमा प्याराफिट छ । पश्चिमतिर गत वर्ष पर्खाल निर्माण गरिएको थियो ।