महेन्द्रनगर, २० भदौ
मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १३ औं राष्ट्रिय दिवस शुक्रबार गड्डाचौकीमा समापन गरिएको छ । भीमदत्त नगरपालिकाको अगुवाईमा सरकारी तथा गैर सरकारी संस्थाले संयुक्त रुपमा साताव्यापी कार्यक्रम गरी दिवस मनाइएको छ ।
एक साता अघि महेन्द्रनगर वसपार्कबाट ‘सरकारको प्रतिवद्धता, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा हामी सबैको ऐक्यवद्धता’ भन्ने नाराका साथ साताव्यापी रुपमा दिवस मनाउन सुरु गरिएको थियो । शुक्रबार गड्डाचौकीमा कार्यक्रम गरी समापन गरिएको छ ।
समापन कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख सुशिला चन्द सिह, सुरक्षा निकाय, गैर सरकारी संस्था, मानव बेचबिखन तथा ओसारपसार विरुद्ध कार्यरत संस्था लगायतका प्रतिनिधिहरु सहभागी भएका छन् ।
दिवस समापनका दिन गड्डाचौकीबाट भारत लैजादै गरेकी एक युवतीको उद्धार गरिएको छ । बझाङ्ग घर भएकी ती युवतीलाई ललाई फकाई भारत लैजाँदै गरेको अवस्थामा उद्धार गरिएको भीमदत्त नगरपालिकाका नगर उप प्रमुख चन्दले बताउनु भयो ।
‘बहिनीलाई वनबासा पुलसम्म घुमाउँछौ भनेर ती युवतीलाई भारत लगिदै थियो, दिवस समापनका दिन उद्धारका कार्यलाई प्राथमिकता दिएको थियो’ नगर उप प्रमुख चन्दले भन्नु भयो,‘ सोधपुछ गर्दा शंका लागेपछि बेचिन लगि रहेको देखियो, त्यसपछि उद्धार ग¥यौ ।’
बझाङ्गकी ती युवतीलाई भीमदत्त नगरपालिका वडा नं. १४ वनकट्टीका युवाले ललाईफकाई भारत लगि रहेका थिए ।
‘सुरुमा त केटाले आफ्नो थर समेत झुटो भन्यो, सुरुमा सिह भन्यो, पछि दाहाल रहेछ’ नगर उप प्रमुख चन्दले भन्नु भयो,‘पहाडबाट केटीहरुलाई ललाईफकाई झुक्याई यता बोलाएर भारत पठाउने गिरोह हो किन्न आशंका छ ।’
समापन कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर उप प्रमुख चन्दले दिवसले मानव बेचबिखन विरुद्ध सचेतना फैलिएको उल्लेख गर्दै सबैको संयुक्त प्रयासले यसलाई नियन्त्रण गर्न सकिने बताउनु भयो । पश्चिमी नाकाबाट बेचबिखन तथा ओसारपासको जोखिम छ, आज कार्यक्रम हुँदा समेत एक जनालाई उता लगि रहेको देखियो, यो नाका अन्य जिल्लाबाट समेत भारत लैजाने प्रयोग गरिने नाका हो’ नगर उप प्रमुख चन्दले भन्नु भयो, ‘यो साझा समस्या हो, सरकारी तथा गैर सरकारी क्षेत्र सबैले सहकार्य र समन्वय गरी जानु पर्छ, भीमदत्त नगरपालिका त्यसमा सदा प्रतिवद्ध छ ।’
सरकारले २०६३ मा मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रिय दिवस घोषणा गरेको थियो । वसपार्कबाट सुरु गरिएको दिवसमा जनचेतना मुलुक कार्यक्रम, देउडा प्रतियोगिता, सरारकोवाला निकायसंग छलफल लगायतका कार्यक्रम गरिएका छन् ।