महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको ४५ औँ वर्ष चौथो स्थापना दिवस सम्पन्न भएको छ । शनिवार नगर प्रमुख पदम बोगटीको अध्यक्षता एवम् सुदूरपश्चिम प्रदेश सभा सदस्य विक्रम धामीको प्रमुख आतिथ्यमा स्थापना दिवस सम्पन्न भएको हो । कार्यक्रममा शुभकामना मन्तव्य, सम्मान एवम् प्रशंसा पत्र वितरण लगायतका कार्यक्रम गरिएका छन् । कार्यक्रममा प्रमुख अथिति प्रदेश सभा सदस्य धामीले स्थापना दिवसको शुभकामना दिदैँ भीमदत्त नगरपालिकाको समग्र विकासका लागि सबैले आ–आफ्नो ठाउँबाट लाग्नु पर्ने बताउनु भयो । यस्तै नगर प्रमुख बोगटीले नगरपालिकाको विकासका लागि जनप्रतिनिधि एवम् कर्मचारीहरुलाई इमान्दारीताका साथ काम गर्न निर्देशन दिनुभयो । ‘यो नगरपालिका र नगरवासीको विकासका लागि हामी सबैले व्यत्तिगत स्वार्थ लोभको पछाडी नलागि इमान्दारीताका साथ काम गर्नुपर्छ ।’ नगर प्रमुख बोगटीले भन्नुभयोे ‘त्यसैले इमान्दारीताका साथ काम गर्नु होला ।’
२५ जना सम्मानित
भीमदत्त नगरपालिकाको स्थापना दिवसको अवसरमा ४ जना सेवा निवृत्त सहित २५ जना कर्मचारी सम्मानित भएका छन् । भीमदत्त नगरपालिकाले सेवा निवृत भएका कृषि विकास अधिकृत कृष्णदत्त पाण्डेय,सिअहेब भरत बहादुर विष्ट, सहायक चौथो गुरुदेव वि.क. र कार्यालय सहयोगि मान बहादुर कुवँरलाई सम्मान गरेको छ । यस्तै स्थापना दिवसको अवसरमा कार्यसम्पादन मुल्याङकनका आधारमा २१ जना कर्मचारीहरुलाई प्रशंसा पत्र दिइएको थियो । कार्यक्रममा वडाध्यक्ष,वडा सदस्य एवम् कर्मचारीहरुको उपस्थिति रहेको थियो ।
चौँथो स्थापना दिवस सम्पन्न, ४ जना सेवा निवृत्त सहित २५ जना कर्मचारी सम्मानित
