महेन्द्रनगर, २२ साउन
भीमदत्त नगरपालिकाका जनप्रतिनिधिहरु मंगलबार दिनभरि डुबान प्रभावित क्षेत्रमा सक्रिय रुपमा खटिएका छन् । मंगलबार विहानदेखि परेको अविरल वर्षापछि नगरपालिकाका क्षेत्रमा डुबान परेपछि कार्य वाहक नगर प्रमुख प्रमानन्द जोशीको नेतृत्वमा जनप्रतिनिधिहरु विहानैदेखि सक्रिय भएका हुन् ।
भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख जोशीले नगरपालिकाका सबै वडामा स्थलगत निरीक्षण गरी डुबान प्रभावित वासिन्दालाई सहयोग गरिएको बताउनु भयो । कार्य वाहक नगर प्रमुख जोशीले भन्नु भयो,‘मंगलबार रातिदेखि परेको वर्षाले विभिन्न वस्तीमा डुबान भयो, डुबानमा परेका सबै वस्तीमा स्थलगत निरीक्षण गरी वासिन्दालाई आवश्यक सहयोग ग¥यौ ।’
निरीक्षणका क्रममा डुबान प्रभावित वासिन्दाको उद्धार, पानी निकास र समस्याबारे जानकारी लिइएको वन, वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक वडा नं. ११ का अध्यक्ष प्रेम प्रसाद जैसीले बताउनु भयो ।
कार्य वाहक नगर प्रमुख जोशी, नगर प्रवक्ता राजेन्द्र पाण्डेय र विपद् व्यवस्थापन समितिका संयोजक जैसीको नेतृत्वको टीम स्थलगत निरीक्षणमा खटिएका हुन् ।
कार्य वाहक नगर प्रमुख जोशीको टीममा प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्ट, भीनपा वडा नं. १५ का अध्यक्ष भीम बहादुर शाहु लगायतका सहभागी हुनु भएको थियो । यसैगरी नगर प्रवक्ता पाण्डेयको टीममा वडा नं. ७ का अध्यक्ष शंकर बहादुर कुँबर, वडा सदस्य प्रशान्त भट्ट, नारद सुनार र जैसीको नेतृत्वको टीममा कार्यपालिका सदस्य मदन सेराला लगायतका सहभागी हुनु भएको थियो ।
नगर प्रवक्ता पाण्डेयले भीनपा वडा नं. १८ र १९ का सबैभन्दा बढी डुबानमा परेको जानकारी दिनु भयो । वहाँले भन्नु भयो,‘यी दुई वडाका अधिकाँश वस्ती डुबान परे, बागबानीमा डुबानमा परेका १२ घरका वासिन्दालाई उद्धार गरियो, वडा नं. १९ मा पनि लगभग सबै वस्ती डुबानमा परेका छन् ।’
भीमदत्त नगरपालिका वडा नं. ३ स्थित भाँसी खोला किनारमा निर्मित ज्ञानेन्द्र स्वाँरको घर धसिएको छ । घरको खोला किनारको भाग भत्किएको छ । नगर प्रवक्ता पाण्डेयले कटानमा पोल्टी फर्म डुबानमा पर्दा दुई तीन सय कुखुरा मरेको जानकारी दिनु भयो ।
वन, वातावरण र विपद् व्यवस्थापन समितिका संयोजक जैसीले ढल निकास, खोलानाला अतिक्रमण र अव्यवस्थित बसोबासले डुबान परेको बताउनु भयो ।‘अव्यवस्थित बसोबास छ, खोलानाला कब्जा छन्, पानी निकासको ठाउँ छैन, सहरमा ढल छैन’ वहाँले भन्नु भयो,‘पानी निकास हुन नपाएपछि डुबान त हुन्छ ।’
विघटित महेन्द्रनगर नगर विकास समितिले खोलानाला कब्जा हुने गरी पूर्जा दिएर संरचना निर्माण गरिएका कारण समेत राजमार्ग दक्षिणका वडा डुबानमा परेको नगर प्रवक्ता पाण्डेयले बताउनु भयो । ‘खोलानालाको पूर्जा दिइएको छ , त्यसमा घर संरचना निर्माण गरिएका छन्, पानी निकास हुने बाटो नै छैन,’ नगर प्रवक्ता पाण्डेयले भन्नु भयो,‘ खोलानालमा घर बनाउन दिइएका पूर्जा तत्काल खारेज गर्नु पर्छ ।’
कार्य वाहक नगर प्रमुख सहितको टीमले रौटेला खोलाको कटान समेत निरीक्षण गरेका छन् । रौटेला खोलामा आएको बाढीले पश्चिमतिर कटान सुरु गरेपछि स्थानीयहरु चिन्तित भएका थिए । कार्य वाहक नगर प्रमुख सहितको टीमले निरीक्षण गरेपछि तत्काल जेसिभी लगाएर पानीको वहान फर्काइएको थियो । अन्य वडाका खोलाहरुमा पनि जेसिभी लगाएर खोलाको वहाव फर्काइएको छ ।
मंगलबार दिनभर स्थलगत निरीक्षण गरेपछि वन, वातावरण र विपद् व्यवस्थापन समितिका संयोजक जैसीले डुबान रोक्न अल्पकालिन र दिर्घकालिन योजना बनाउनु पर्नेमा जोड दिनु भयो ।
‘ढल व्यवस्थित बनाएर जानु पर्छ, अव्यवस्थित वस्ती बस्ने क्रम रोक्नु पर्छ, वृक्षारोपणलाई बढाउनु पर्छ’ वहाँले भन्नु भयो, ‘यसका साथै अल्पकालिन र दिर्घकालिन योजना बनाएर जानु पर्छ ।’