भीमदत्त । कञ्चनपुरको भीमदत्त नगरपालिकामा आउँदो चैत २५ देखि टाईफाईट विरुद्धको खोप अभियान सुरु हुने भएको छ । आईतबार नगरपालिकाले टाईफाईट रोग विरुद्धको खोप अभियान तथा नियमित खोपमा टाईफाईट खोपको सुरुवात सम्बन्धी पालिकास्तरीय एक दिने अभिमुखिकरण कार्यक्रम गदैँ उक्त जानकारी गराएको थियो ।
सोही अभियानबारे नगरपालिकाले वडागत रुपमा पनि प्रचारप्रसारका लागि वडा स्तरिय समितिलाई लक्षीत गरि अभिमुखिकरण कार्यक्रममा तिव्रता दिईएको छ । बुधबार भीमदत्त नगरपालिका–१८, १५ र १९ का सरोकारवाला निकायसँग अभियानबारे समन्वयात्मक छलफल तथा अभिमुखिकरण गरिएको छ । स्वास्थ्य शाखाका करन ठगुन्नाले लक्षीत वर्ग सबैलाई खोपको दायरामा समेट कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।
उहाँका अनुसार १५ महिना पुरा भएका र १५ वर्षमुनिका बालबालिकालाई टाईफाईट विरुद्धको खोप लगाईनेछ । खोप अभियान पालिकास्थित विद्यालयमा सञ्चालन हुने नगरपालिकाले जनाएको छ । वडाध्यक्षको अध्यक्षतामा सबै वडामा खोप अभियानका लागि वडास्तरिय समन्वय समिति गठन गरिएको छ ।
भीमदत्तमा ३९ हजार सात सय २५ जनालाई खोप लगाईने योजना छ । जसमा विद्यालयमा रहेका ३३ हजार नौ सय ८५ र विद्यालय बाहिर रहेका पाँच हजार सात सय ४० जना रहेका छन् ।
नगरपालिकाले सबैलाई अनिवार्य रुपमा खोप लगाउन अपिल गरेको छ । एक हप्तासम्म चल्ने खोप अभियानलाई वडामा रहेका आधारभुत स्वास्थ्य केन्द्रहरुमा पनि सञ्चालन गरिनेछ खोपबाट निको हुने रोगलाई शुन्यमा झार्ने अभियानको लक्ष्य रहेको छ ।