• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव समापन

Byभीमदत्त अनलाइन

२४ फाल्गुन २०७६, शनिबार १७:३० २४ फाल्गुन २०७६, शनिबार १७:३० २४ फाल्गुन २०७६, शनिबार १७:३०

महेन्द्रनगर, २४ फागुन
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि नेपाल भ्रमण वर्षलाई मध्यनजर गरी आयोजना गरी तेस्रो शुक्लाफाँटा पर्यटन महोत्सव २०७६ समापन गरिएको छ । भीमदत्त नगरपालिकाले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज सहित विभिन्न साझेदार संस्थाहरुको सहकार्यमा फागुन ९ गतेदेखि महोत्सव आयोजना गरिएको थियो ।

दुई सातासम्म सञ्चालन गरिएको महोत्सवको शनिबार औपचारिक कार्यक्रम गरी समापन गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा समापन कार्यक्रम गरिएको छ । समापन कार्यक्रममा महोत्सवको प्रगति विवरण सार्वजनिक गरिएको छ । कार्यक्रममा नगर प्रमुख विष्टले शुक्लाफाँटा पर्यटन महोत्सव शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन महोत्सवमा कोषेढुङ्गा सावित भएको बताउनु भयो ।

‘शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्रचारप्रसार, भीमदत्तका पर्यटकीय धार्मिक साँस्कृतिक क्षेत्रको प्रचारप्रसार र नेपाल भ्रमण वर्षलाई सफल बनाउने लक्ष्य लिएर विभिन्न साझेदार निकायको साझेदारी र सहकार्यमा गरिएको हो’ नगर प्रमुख विष्टले भन्नस भयो,‘यो महोत्सव पर्यटन प्रवद्र्धनमा कोषेढुङ्गा बनेको छ, यसलाई अझै निरन्तरता दिएर जानेछौ ।’

बर्षा र कोरोना संक्रमणले महोत्सव कार्यक्रमका केही कार्यक्रमलाई अवरोध पुगेको नगर प्रमुख विष्टले बताउनु भयो । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको शुक्लाफाँटा घाँसे मैदानमा गर्ने तयारी गरिएको उद्घाटन कार्यक्रम बर्षाका कारण अन्तिममा आएर पिपरियास्थित हात्तीसारमा गरिएको थियो ।

महोत्सव उद्घाटनका दिन निकुञ्ज प्रवेशद्वारमा बाह्रसिंगाको मूर्ति स्थापना गरी मझगाउँ चौकलाई बाह्रसिंगा चोक नामारकण समेत गरिएको छ । शुक्लाफाँटा पर्यटन महोत्सवमा मझगाउँ विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा विशेष समारोह आयोजना गरिएको छ । समारोहलाई राष्ट्रपति भण्डारी सहित सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, कञ्चनपुर क्षेत्र नं. ३ का साँसद दिपक प्रकाश भट्ट लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रपति भण्डारीलाई सम्मान पत्र प्रदान गरिएको थियो ।

महोत्सवमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, अनाथ बालबालिका र नेपाल भारतका साहित्यकारहरुले पहिलो पटक सामूहिक रुपमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा भ्रमण गरेका छन् । भीमदत्त नगरपालिकाले सबैलाई निःशुल्क रुपमा निकुञ्ज भ्रमण गराएको छ ।

भीमदत्तका नगर प्रमुख विष्टले अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, एकल महिला, अनाथ बालबालिका र नेपाल भारतका साहित्यकारले सामूहिक रुपमा भ्रमण गर्न ऐतिहासिक भएको बताउनु भयो । नगरपालिका कार्यालयका अनुसार भ्रमण गर्नेमा अपाङ्गता भएका ३५, ज्येष्ठ नागरिक ९०, एकल महिला ६०, अनाथ बालबालिका ३२ र दुबै देशका साहित्यकार २० जना छन् ।

महोत्सव अवधिमा एक हजार भन्दा बढी स्वदेशी र विदेशी पर्यटनले निकुञ्ज भ्रमण गरेका छन् । पर्यटकहरुलाई मझगाउँस्थित निकुञ्ज कार्यालय र पिपरियास्थित हात्तीसार पोष्टबाट प्रवेश गराइएको थियो । पर्यटन विकासको कुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज विषयमा मदनचोकमा बक्तृत्वकला प्रतियोगिता गरिएको छ । प्रतियोगितामा पूजा सुनार प्रथम, पूजा नेगी द्वितीय, जीवन ज्योति कलौनी तेस्रो र कृष्ण बुढाले चौथो स्थान हासिल गरेकी थिइन् ।

समापन कार्यक्रममा महोत्सवको खर्च विवरण समेत सार्वजनिक गरिएको छ । महोत्सवमा १० लाख ५० हजार खर्च गरिएको छ । त्यसमा भीमदत्त नगरपालिका ५ लाख, नेपाल पर्यटन बोर्ड २ लाख ५० हजार, प्रकृति संरक्षण कोष ५५ हजार, सुदूरपश्चिम प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय २ लाख र कञ्चनपुर उद्योग बाणिज्य संघबाट ५० हजार आम्दानी गरिएको छ ।

नगर प्रमुख विष्टको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपालिका पर्यटन विकास समितिका उपाध्यक्ष कर्ण बहादुर चन्दले प्रगति प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी बोक्सर, कञ्चनपुर होटल व्यवसायी संघका अध्यक्ष प्रमानन्द भण्डारी, पर्यटन विकास समितिका सदस्य भगत सिह विके, लक्ष्मण तिवारी, नेपाल पत्रकार महासंघ कञ्चनपुरका उपाध्यक्ष दुर्गा उपाध्यय, महासंघका पूर्व उपाध्यक्ष अशोक पाण्डेय लगायतका सहभागी हुनु भएको छ ।

महोत्सवमा जिल्ला समन्वय समिति, माहाकाली नगरपालिका, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय, कञ्चनपुर होटल व्यवसायी संघ, नाटा, राष्ट्रिय प्रकृति संरक्षण कोष, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज मध्यवर्ती व्यवस्थापन समिति, नेपाल पत्रकार महासंघ, नेचर गाइड एसोसिएन, गैर सरकारी महासंघ लगायतका विभिन्न संघ संस्थाहरुसित सहकार्य गरिएको छ । यसैगरी सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्यटन बोर्ड महोत्सवको प्रवद्र्धक रहेका छन् ।

स्थानीय तह निर्वाचनपछि गत वर्षदेखि शुक्लाफाँटा पर्यटन महोत्सव गरिएको हो । तत्कालिन शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई निकुञ्ज घोषणा गरिएको दिन फागुन ९ गतेका दिन महोत्सव आयोजना गरिएको हो । यस अघि निजी क्षेत्रबाट तीन वर्ष अघि शुक्लाफाँटा पर्यटन महोत्सव आयोजना गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *