महेन्द्रनगर, २४ असोज
धार्मिक पर्यटकीय स्थल रौटेलामा १९ फिटको त्रिशुल स्थापना गरिएको छ । नेपाल भ्रमण वर्ष २०२० लाई मध्यनजर गरी भीमदत्त नगरपालिकाका सबै वडाका प्रतिनिधित्व हुने गरी बैजनाथ मन्दिर नजिक धार्मिक पर्यटकीय मार्गको प्रस्थान विन्दुमा त्रिशुल राखिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले भ्रमण वर्ष–२०२० सफललाई सफल बनाउन सन् २०१९ लाई पूर्वाधार र प्रचार वर्ष घोषणा गर्नु भएको थियो । नगर प्रमुख विष्टको घोषण अनुसार रौटेलामा त्रिशुली राखिएको छ ।
‘भीमदत्तले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन विभिन्न कार्यक्रम अघि सारेको छ , त्यस अन्र्तगत सन् २०१९ लाई प्रचार र पूर्वाधार वर्ष घोषणा गरिएको छ,’ नगर प्रमुख विष्टले भन्नु भयो,‘पर्यटन वर्षलाई मध्यनजर गरी रौटेलामा १९ फिटको त्रिशुल राखिएको छ, त्यसमा सबै वडाको प्रतिनिधित्व छ ।’
रौटेला धार्मिक पर्यटकीय स्थल भएकाले सबै वडाको प्रतिनिधित्व हुने गरी त्रिशुल राखिएको नगर प्रमुख विष्टले बताउनु भयो । प्रचारका लागि रौटेलामा यस अघि होर्डिङ्ग बोर्ड लगाइएको छ । धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि रौटेलादेखि ब्रह्मदेबसम्म धार्मिक पर्यटकीय मार्ग निर्माण गरिएको छ ।
रौटेलादेखि ब्रह्मदेबसम्मका धार्मिक पर्यटकीय क्षेत्रको विकासका लागि नगर प्रमुख विष्टले प्राथमिकता दिएर काम अघि बढाउनु भएको छ । रौटेला नजिक बाराकुण्डा क्षेत्रका सबै १२ कुण्ड पुनःभरण गरिएका छन् । बाराकुण्डामा पिकनिक स्पट निर्माण गरिएको छ । यसैगरी बाराकुण्डाबाट विष्णु मन्दिर धामसम्म पुग्ने पदमार्ग निर्माण गरिएको छ ।
भारतका पूर्णागिरी माताका दर्शनार्थीहरुलाई रौटेला बाराकुण्डासम्म पुगाउने लक्ष्य सहित नगर प्रमुख विष्टले बाराकुण्डाका कण्डहरु पुनःभरण गरिएका हुन् । पूर्णागिरी माताका दर्शनार्थीहरु धार्मिक पर्यटकीय मार्ग भएर बाराकुण्डा पुगाउने लक्ष्य राखिएको छ । पूर्णागिरी माताका दर्शनार्थीहरु ब्रह्मदेब र महेन्द्रनगरको सिद्धनाथ मन्दिरमा पूजाआजाका लागि वर्सेनी आउने गरेका छन् ।
सरकारले गत वर्ष भम्केनी धाम, रौटेला र ब्रह्मदेबलाई एक सय नयाँ गन्तव्य सूचीमा समावेश गरेको थियो । नगर प्रमुख विष्टले ती नयाँ गन्तव्यलाई मध्यनजर गरी प्रचार र पूर्वाधार निर्माण अघि बढाउनु भएको हो । भम्केनी धाममा निर्माण भई रहेको नेपाल आमाको मूर्तिका लागि नगरपालिकाले एक करोड सहयोग गर्ने भएको छ । त्यस मध्ये चालु आर्थिक वर्षमा ५० लाख सहयोग प्रदान गरिने नगर प्रमुख विष्टले बताउनु भयो ।
पश्चिमी सीमा नाका गडाचौकीमा नेपालको राष्ट्रिय झण्डा गाड्ने कार्य अघि बढेको छ । झिलमिला तालसम्म पक्की सडक निर्माण गरिएको छ । झोलुङ्गे पुल किनारमा उद्यान निर्माण सुरु गरिएको छ । झोलुङ्ग पुल सौन्दर्यकरणीका लागि नेपाल पर्यटन बोर्डसित सहकार्य गरी सोलार जडान गरिएको छ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि झोलुङ्ग पुलदेखि बागफाँटासम्म निकुञ्ज किनार शुक्लाफाँटा पर्यटन मार्गको ट्रयाक खोलिएको छ ।