भीमदत्त २६ फागुन । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रमुख सरेन्द्र विष्टले पुर्व–पश्चिम रेल्वे अध्ययन टोलीसँग छलफल गर्नु भएको छ । बिहिबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालय रेल विभाग अन्र्तगतको मेचि–महाकाली विद्युतीय रेलमार्ग आयोजनाको सुख्खड–गड्डाचौकी खण्डको अध्ययन टोलीसगँ छलफल गरिएको हो ।
२०६८ साल असार ३ गते रेल विभागको स्थापना भई राष्ट्रिय गौरवको आयोजनाको रुपमा करिव ९४५ किमि लामो पूर्व–पश्चिम विद्युतीय रेलमार्ग निर्माण हुनेछ ।
नगर प्रमुख सुरेन्द्र विष्टले सुख्खड–गड्डाचौकी खण्ड अन्र्तगत भीमदत्त नगरपालिका क्षेत्रमा पर्ने रेलमार्गको विस्तृत जानकारी लिईएको बताउनु भयो । उहाँले आयोजनाको प्रभावित क्षेत्रमा पर्ने भौतिक संरचना र खेतीयोग्य जमिनको उचित मुआब्जा निर्धारण गरिनुपर्ने, पानि जम्ने ठाउँ तथा डुबान हुने क्षेत्र रहेकाले त्यसको व्यवस्थान गर्नुपर्ने लगायतका सुझाव आयोजनालाई सुझाव दिनु भएको थियो ।
साथै सह–लगानीमा निर्माण भइरहेको मझगाउँ एयरपोर्टको निकट भविष्यमा विस्तार पनि हुने हुँदा यसलाई पनि मध्यनजर गरी योजना अगाडि बढाउनु पर्ने सुझाव दिईएको छ । सुख्खड–गड्डाचौकीको ९० किलोमिटर अन्र्तगत भीमदत्तमा प्रस्तावित रेलमार्गले वडा नं २,४, ११,१५,१६,१७ र १८ लाई जोड्ने छ ।
छलफल कार्यक्रममा नगर प्रमुखसहित प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रशाद भट्ट, वडाध्यक्षद्धय लक्ष्मी बोहरा, भीम बहादुर शाहु, उत्तम विष्ट, अध्ययन टोलीका वातावरण विज्ञ रिकेश चित्रकार, दिपेश आचार्य, चन्द्र बहादुर बोहरा, ईन्जिनियर हिमालय सिंह ऐरलगायतको सहभागीता रहेको थियो ।