महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ की क्यान्सर पिडित ८० वर्षिया सिद्धकला दमाईसंग घरमै गएर भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी,उप–प्रमुख निलम लेखक जोशीले भेटघाट गर्नु भएको छ ।
केही दिन अगाडी नगरपालिकाको विकास योजना अनुगमनको क्रममा नजिकै ८० वर्षिया वृद्ध ५ वर्ष देखी पाठेघरको क्यासर भएर विरामी अवस्थामा रहेको थाहापाएपछि उपमेयर लेखकले उहाँको घरमै पुगेर जानकारी लिनु भएको थियो ।
पुनः आज (विहिबार) नगर प्रमुख ,उपप्रमुख आफै सिद्धकलाको घरमा पुगेर उहाँसंग भेटघाट र खाद्यान्न,स्वास्थ्य सामाग्री,एक थान टेबल पंखा लगाएतका आवश्यक सामाग्री सहयोग समेत गर्नु भएको छ ।
आफुले मागे बमोजिमका सामाग्री नगरपालिकाले सहयोग गरेकोमा खुशी लागेको सिद्धकलाका छोरा जोगी दमाईले बताउनु भयो ।
‘आमालाई पाठेघरको क्यान्सर भएको अहिले ५ वर्ष भयो ।’ जोगीले भन्नुभयो ‘आमाको उमेर ८० वर्ष भन्दा बढी भइसक्यो,अस्पताल लैजाने अवस्थापनि छैन,त्यसैले अस्ति (केहि दिन अगाडी) उपमेयर आएको बेलामा मैले खाद्यान्न, पंखा, गंद भगाउन स्प्रे,मलम,ग्राउन आवश्यक छ भनेको थिए ।’
उहाँले अगाडी भन्नुभयो ‘आज आफै घरमा आएर सहयोग गरिदिनु भयो,गरिवको घरमा आएर कुरा सुनेर सहयोग गर्ने यहाँका मेयर, उपमेयर,वडाध्यक्ष जस्ता नेता नेपालभरि नै हुन् ।’
यस्तै सिद्धकलालाई घरमै समाजिक सुरक्षा भत्ता समेत प्रदान गरिएको छ । भीनपा–१२ का वडाध्यक्ष भुपेन्द्र रावल लगाएत कर्मचारीले घरमै पुगेर क्यान्सर पिडित सिद्धकलालनई सामाजिक सुरक्षा भत्ता समेत प्रदान गर्नुभएको हो । सिद्धकलाको स्थायी बसोवास भीनपा–१२ हो ।