महेन्द्रनगर, २६ बैशाख
भीमदत्त नगरपालिकामा लकडाउन पालना गराउन ड्रोन गस्ती सुरु गरिएको छ । भीमदत्त नगरपालिका सबै १९ ओटै वडामा ड्रोन गस्ती गरी लकडाउन निगरानी गरिएको छ । कार्यान्वयनको अवस्था जानकारी लिन थालिएको छ ।
रोबोटिक एसोसियन आफ नेपाल इन्जिनिरिङ्ग र भीमदत्त नगरापलिकाबीच लकडाउन निगरानीका लागि ड्रोन गस्ती गर्ने सम्झौता भएको थियो । सम्झौता अनुसार शुक्रबारदेखि ड्रोन गस्ती सुरु गरिएको छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रमा लकडाउन पालनाको अवस्थाबारे जानकारी लिन ड्रोन गस्ती सुरु गरिएको बताउनु भयो । नगर प्रमुख विष्टले लकडाउन उल्लङ्घन गरिएको पाइएमा तत्कालै निर्देशन समेत दिइने बताउनु भयो ।
‘कोरोना भाइरस रोकथामका लागि लकडाउन गरिएको छ, यो नगरपालिकामा लकडाउन पालना भए नभएको के छ भनेर ड्रोनबाट जानकारी लिन ड्रोनबाट जानकारी लिन सुरु गरिएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘कही कतै उल्लङ्घन गरिएको पाइएमा तत्काल पालना गराउन निर्देशन समेत दिन्छौ ।’
ड्रोन गस्तीका आधारमा लकडाउन पालनालाई प्रभावकारी बनाउन स्थानीय प्रशासनसित सहकार्य र समन्वय गरिने समेत नगर प्रमुख विष्टले बताउनु भयो । गस्तीका क्रममा नगरपालिकाको कुनै स्थानमा भीडभाड देखिएमा ड्रोनबाटै हट्न निर्देशन दिइने र सूचना प्रवाह समेत गरिने भएको छ । ‘लकडाउन उल्लङ्घन भएको पाइएपछि अब ड्रोनबाट गस्ती गरी नगरपालिकाभित्र लकडाउन उल्लङ्घन गरिएको पाइएमा नियम अनुसार कारवाही गरिने छ’ नगर प्रमुख सुरेन्द्र बिष्टले भन्नु भयो ।
रोबोटिक एसोसियन आफ नेपाल इन्जिनिरिङ्गका सुप ब्राञ्च अध्यक्ष दिपक विष्टले नगरपालिकासित गरिएको सम्झौता अनुसार ड्रोन गस्ती गरी लकडाउन गरिएको बताउनु भयो । नगरपालिकामा पाँच दिनसम्म ड्रोन गस्ती गरिनेछ ।
नेपालमै पहिलो पटक भीमदत्त नगरपालिकामा ड्रोनबाट लकडाउन निगरानी गरिएको छ । ड्रोन गस्तीबाट लकडाउन निगरानीमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालय इन्जिनियरिङ्ग संकायका विद्यार्थीले समेत सहयोग गरेका छन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका इन्जिनियरिङ्ग संकायका विद्यार्थी लोचन कार्कीले ड्रोन गस्तीले भीमदत्त नगरपालिकामा लकडाउन पालना प्रभावकारी बनाउन सहयोग पुग्ने बताउनु भयो ।