महेन्द्रनगर, २९ कार्तिक
कञ्चनपुर, कार्तिक २९ सन २०२० मा नेपाल पर्यटन भ्रमण सफल बनाउनका लागि भीमदत्त नगरपालिकाले पर्यटन प्रर्बद्धनका लागि विभिन्न योजना अघि सारेको छ ।
भीमदत्तले सरोकारवालासंग शुक्रबार आयोजना गरेको छलफल कार्यक्रममा नगर प्रमुख सुरेन्द्र विष्टले महाकाली नदीको बहुउपयोगसंग थुप्रै पर्यटकिये योजना अघि सारेको बताउनु भयो । ‘भीमदत्त सम्बृद्धिको आधार पर्यटन शिक्षा, कृषि र व्यापार’ भन्ने मूल नारा अघि सारेर नगरपालिकाले महाकालीलाई बहुउपयोगको योजना अघि सारेको नगर प्रमुख विष्टले बताउनु भयो ।
नगर प्रमुख विष्टले भन्नु भयो, ‘भीमदत्तमा पर्यटनका प्रशस्त सम्भावना छन्, पूर्वाधार बनाउन आवश्यक छ, हामी महाकाली नदीको बहु उपयोग गर्न सक्छौँ, उति फाईदा हुन्छ, कार्यक्रममा नगर प्रमुख विष्टले भन्नु भयो, ‘त्यसका लागि नगरपालिका सबै पक्षको साथ र सहयोग लिएर अघि बढेको छ ।’
नगर प्रमुख विष्टले भारतको उत्तराखण्ड चम्पावत स्थित पुर्णागिरी दर्शन गरी नेपालको सिद्धबाबा मन्दिरमा दर्शन गर्न आउँने दर्शनार्थीका लागि स्नान स्थलका बनाइने बताउनु भयो । ‘ उत्तरी ब्रम्हदेबमा आउने भारतीय पर्यटकलाई चुरे हुँदै कैलालीको गोदाबरी धामसम्म पु¥याउने योजना छ’ नगर प्रमुख विष्टले भन्नु भयो, तब मात्रै कैलाली कञ्चनपुरका पर्यटकिय स्थलको विकास हुन्छ ।’
भीमदत्त नगरपालिकामा पर्ने पर्ने एक सय नयाँ पर्यटकीय गन्तव्य सूचीमा सूचीकृत भम्केनीधाम, रौटेला र ब्रह्मदेबका लागि बजेट विनियोजन गरिएको बताउनु भयो । ‘एक सय पर्यटकीय गन्तव्यको सूचीमा सूचीकृत विष्णू मन्दिर, रौटेला–ब्रम्हदेब धाम र भम्केनी धामको पर्यटन प्रवद्र्धनका लागि ५ करोड बजेट आएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो ।
चुरेमा रहेको झिलमिला तालदेखि कैलालीको घोडाघोडी तालसम्मका सबै पर्यटकिय स्थलविच लिक गराउनु पर्ने आवश्यकता रहेको समेत नगर प्रमुख विष्टको भनाई थियो । भीमदत्त नगरपालिकाले उत्तरी जैविक मार्ग हुँदै झोलुङ्गेपुल, शुक्लाफाँटा निकुञ्ज, हात्तीसार, बाह्रकुण्डा लगायतका पर्यटकिय स्थल जोड्नका लागि भित्री तथा बाह्य चक्रपथ निर्माण गरी नगर वस सेवा सञ्चालन गर्ने योजना अघि सारेको छ ।
‘ नेपाल पर्यटन भ्रमण बर्ष २०२० सफल पार्नका लागि थुप्रै आन्तरिक तथा बाह्य योजना अघि सारिरहेका छौँ, ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘कतिपय योजना भीमदत्त आफैले, कतिपय अन्य स्थानीय तह, प्रदेश र संघसंग मिलेर अघि बढिरहेका छौँ ।’
भीमदत्त नगरपालिकाले बहुधर्म, साँस्कृतिक र संस्कारका समुदायको बसोबास क्षेत्र भएकाले बहुसाँस्कृतिक संग्राहलय निर्माणमा जोड दिएको छ । ‘सबै समुदायको ऐतिहासिक, धार्मिक महत्वका साँस्कृतिक विषय राख्नु पर्छ,’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘पर्यटनका लागि हामीले हाम्रै मौलिक विषय दिनुपर्छ ।’
पश्चिम नेपाल भारतसंग अर्थात भारतको राजधानीदिल्लीसंग जोड्ने नाकाको रुपमा रहेको महाकाली नगरपालिका दोधारा चाँदनीका भगवान गौतम बुद्ध पार्क निर्माणको प्रस्ताव अघि सारिएको समेत मेयर विष्टले बताउनु भयो ।
कार्यक्रममा कञ्चनपुरका सरोकारवाला निकायले पर्यटन भ्रमण बर्ष सफल बनाउनका लागि सबै स्थानीय तहले तदारुकता देखाउनुपर्नेमा जोड दिएका छन् । युवा व्यवसायी कृष्णानन्द भट्ट (किरण) ले कञ्चनपुर भरीका पर्यटकिय स्थलको परिचयबारे हात्ते पुस्तक प्रकासित गरेर वितरण गर्नु पर्ने सुझाव दिनु भयो ।
महाकाली साहित्य संगमका पूर्व महासचिव रमेश पन्त(मितबन्धु)ले पर्यटकको आकर्षणका लागि स्वदेशी ऐतिहासिक साँस्कृतिक विषयमा जोड दिनु भयो । अधिवक्ता कौसिल्या ओझाले पर्यटकिय स्थलमा सरसफाई हुनु पर्ने धारणा राख्नु भयो ।
कार्यक्रममा कञ्चनपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष हेमराज जोशीले पर्यटन प्रर्बद्धनका लागि निजी क्षेत्र साझेदार गर्न तयार रहेको प्रतिबद्धता जाहेर गर्नु भयो । नेपाल पत्रकार महासंघ कञ्चनपुरका अध्यक्ष विष्णू दत्त अवस्थीले पर्यटन, कृषि, वाढि नियन्त्रण एव बहुउपयोगका लागि चुरे क्षेत्र सहित महाकालीको भङ्गालोको पानी सञ्चित गरेर सागर बनाउनु पर्नेमा सुझाव दिनु भयो ।
सिद्धनाथ माविका शिक्षक उत्तम विष्टले संस्थागत रुपमा पर्यटनको विकास जोड दिनु भयो । ‘पर्यटन आजका लागि होईन, भविष्यका लागि पनि हो, शिक्षक विष्टले भन्नु भयो, ‘त्यसका लागि संस्थागत सम्बृद्धि दिगो हुन्छ ।’
होटेल व्यवसायी जगदिश प्रशाद भट्टले पर्यटन प्रर्बद्धनका लागि होटेल क्षेत्रको समेत महत्वपूर्ण भूमिका हुने भएकाले त्यसलाई अनुसरण गर्ने बताउनु भयो ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालय ईन्जिनियरिङ्ग संकायका डिन डा. किसन भट्टले पर्यटक सन्तृष्टी पार्ने खालका कार्यक्रम ल्याउनु पर्ने सुझाव दिनु भयो । भीमदत्त नगरपालिका उप प्रमुख शुशिला चन्द सिहले शुभकामना मन्तव्य राख्दै अथाह सम्भावना रहेको नगरका पर्यटकिय स्थलको प्रचार प्रसारमा जोड दिनु भयो । नेपाल पत्रकार महासंघ कञ्चनपुरका पूर्व अध्यक्ष समेत रहेका पत्रकार लक्ष्मण तिवारीले सञ्चालन गरेको कार्यक्रममा पर्यटन सहित विभिन्न क्षेत्रका प्रतिनिधि सहभागी भएका छन् ।