• Sat. Mar 22nd, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन शुक्लाफाँटा राष्ट्रिय निुकञ्जबाट भीमदत्तको सरसफाई अभियान

Byभीमदत्त अनलाइन

१८ मंसिर २०७६, बुधबार १८:४६ १८ मंसिर २०७६, बुधबार १८:४६ १८ मंसिर २०७६, बुधबार १८:४६

महेन्द्रनगर, १८ मंसिर
भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को पूर्व सन्ध्यामा पर्यटकीय स्थलहरुमा सरसफाई अभियान सुरु गरेको छ । भ्रमण वर्ष सफल बनाउन नगर क्षेत्रका पर्यटकीय स्थलहरुको प्रचारप्रसार तथा सरसफाई गर्ने कार्यक्रम अनुसार शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट बुधबारदेखि सरसफाई अभियान सुरु गरिएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट सहित राष्ट्रिय सरसफाई अभियन्ता केपी खनाल, देउडा गायिका रेखा जोशी सहित जनप्रतिनिधि, संरक्षणकर्मी, नेपाली सेना र कर्मचारी सरसफाई अभियानमा सहभागी हुुनु भएको छ । निकुञ्जको बाबाताल, रानीताल, शुक्लाफाँटा घाँसे मैदान, हात्तीसार क्षेत्र लगायतका स्थानमा सरसफाई गरिएको छ । ती सबै स्थानबाट प्लाष्टिक, सिसाका टुक्रा, कपडाका टुक्रा लगायतका फोहर संकलन गरी निकुञ्ज बाहिर ल्याइएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन पर्यटकीय स्थलहरुको प्रचारप्रसार र सरसफाईका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट अभियान सुरु गरिएको बताउनु भयो । ‘भीमदत्त नगरपालिकाका नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन योजनाबद्ध रुपमा अघि बढेको छ, पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार र सरसफाईका कार्यक्रम अघि सारिएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘त्यस अन्र्तगत आज निकुञ्जबाट सरसफाई अभियान सुरु गरिएको छ ।’

भीमदत्तले भ्रमण वर्षलाई मध्यनजर गरी सन् २०१९ लाई पूर्वाधार र प्रचारको वर्षका रुपमा मनाएको छ । यस अन्र्तगत क्षेत्रका पर्यटकीय स्थलहरुमा पूर्वाधार निर्माण र प्रचारका कार्यक्रमका गरिएका छन् । ‘नगरपालिकाले सन् २०१९लाई पूर्वाधार र प्रचार वर्षका रुपमा मनाएको छ, अब भ्रमणको पूर्र्व सन्ध्यामा पर्यटकहरुलाई सफा र स्वच्छ पर्यटकीय क्षेत्रमा स्वागत गर्न तयार छौ’ नगर प्रमुख विष्टले भन्नु भयो ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई नेपाल भ्रमण वर्षका लागि छनौट गरिएका २५ पर्यटकीय गन्तव्यमा समावेश नगरिएकोमा नगर प्रमुख विष्टले दुःख व्यक्त गर्नु भयो । नगर प्रमुख विष्टले केही दिन अघि काठमाडौंमा नेपाल भ्रमण वर्षको सचिवालयमा शुक्लाफाँटालाई पर्यटकीय गन्तव्यको सूचीमा नराखेमा असन्तुष्टि व्यक्त गरी सूचीमा राख्न आग्रह गर्नु भएको थियो । ‘यो शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई भ्रमण वर्षको पर्यटकीय क्षेत्रको सूचीमा र्नै राखिएको छैन, यसको विशेषता, महत्व, प्रकृति यस्तो छ, तै पनि किन हो पर्यटकीय सूचीमा राखिएको छैन’ नगर प्रमुख विष्टले भन्नु भयो,‘म यसलाई तत्काल पर्यटकीय गन्तव्यको सूचीमा राख्न माग गर्छु, यसलाई २६ औं, २७ औंै जतिऔ पर्यटकीय गन्तव्य बनाए नि हुन्छ ।’

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पर्यटन प्रवद्र्धनका लागि गड्डाचौकी नाकालाई पर्यटकमैत्री बनाउन र मझगाउँ विमानस्थल सञ्चालनका लागि नगरपालिकाबाट हुने सबै सहयोग गरिएको नगर प्रमुख विष्टले बताउनु भयो । सरसफाई अभियन्ता खनालले नगर प्रमुख विष्टले सुरु गरेको सरसफाई अभियानलाई सुदूरपश्चिम प्रदेश र देशभर प्रचार गरिने बताउनु भयो । ‘भ्रमण वर्ष सफल बनाउन मेयर सापले थाल्नु भएको कार्यक्रम निकै राम्रो छ, यसलाई प्रदेश र देशभर प्रचार गर्न सहयोग गर्छु’ अभियन्ता खनालले भन्नु भयो,‘यो भीमदत्तको मात्रै नभएर देशका लागि राम्रो कार्यक्रम हो ।’

सरसफाई अभियन्ता खनालले सरसफाई कार्यक्रमको आफ्नो फेसबुक पेजमा लाइभ गर्नु भएको थियो । मझगाउँस्थित निकुञ्जको प्रवेशद्वारमा गायिका जोशीले देउडा गाएर सरसफाई अभियान टोली निकुञ्ज क्षेत्रमा प्रवेश गरेको थियो । प्रवेशद्वारमा सहभागी विभिन्न क्षेत्रका व्यक्तिले सरसफाई अभियानको प्रशंसा गरेका थिए ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत निरज चौधरीले भीमदत्त नगरपालिकाको सरससफाई अभियानले निकुञ्ज क्षेत्रको सरसपफाईमा ठूलो सहयोग पुगेको बताउनु भयो । ‘निकुञ्जमा फालिएका फोहरले वातावरण फोहर हुन्छ, प्लाष्टिक लगायतका फोहर जनावरले खाँदा स्वास्थ्यमा समस्या पर्छ’ सहायक संरक्षण अधिकृत चौधरीले भन्नु भयो,‘आजको अभियानले फोहर सफा गरिएको छ, यसले निकुञ्जलाई सफा राखेको छ ।’

भीमदत्त नगरपालिका वन, वातावरण, विपद् व्यवस्थापन समितिका संयोजक प्रेम प्रसाद जैसीले सरसफाई कार्यक्रमलाई निरन्तरता दिइने बताउनु भयो । ‘आज सुरु भएको छ, अब यसलाई निरन्तरता दिन्छौ’ संयोजक जैसीले भन्नु भयो ।

सरसफाई कार्यक्रममा भीनपा कार्यपालिका सदस्य सरसफाई उप समितिका संयोजक सरस्वती रावल, वडा सदस्य सिद्धकला नेपाली, भीनपा सरसफाई उप शाखाका पुष्पराज भट्ट, पूर्ण बहादुर कुँबर लगायतका सहभागी हुनु भएको छ । यसैगरी भीमदत्त नगरपालिकाका विद्यालयहरुमा सरसफाई सचेतना कार्यक्रम सुरु गरिएको छ । सरसफाई अभियन्ता खनाल र गायिका जोशी सहितको उपस्थितिमा बुधबार प्रभा विद्या निकेतनबाट कार्यक्रम सुरु गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *