महेन्द्रनगर, १६ पुुस
भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० को पहिलो दिन पश्चिमी सीमा नाका गड्डाचौकी भएर नेपाल आएका पर्यटकलाई स्वागत र सम्मान गरी महेन्द्रनगर बजार परिक्रमा गराएको छ ।
गड्डाचौकीमा भ्रमण वर्षको उद्घाटन कार्यक्रम गरी नेपाल भ्रमणमा आएका पर्यटकलाई स्वागत र सम्मान गरी बजार परिक्रमा गरी विदाई गरेको छ । गड्डाचौकीमा सम्मानपछि सम्मानका साथ बजार परिक्रमा गरी खुला मञ्चमा औपचारिक कार्यक्रम गरी विदाई गरिएको हो । जापानका टोमिहिको कोमात्सु र दक्षिण अमेरिकाका मिलिसा रस्तोगीलाई सम्मान गरिएको छ ।
गड्डाचौकीमा नेपाल भ्रमण वर्षको उद्घाटन समारोहमा कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा. दिपक प्रकाश भट्ट, सुदूरपश्चिम प्रदेश सभा सदस्यहरु प्रकाश रावल, महेशदत्त जोशी, मान बहादुर सुनार, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य राम कुमार ज्ञवाली, भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट, नगर उप प्रमुख सुशिला चन्द सिह लगायतले पर्यटकहरुलाई टीका, फूलमाला र खादा लगाएर स्वागत तथा सम्मान गर्नु भयो । सबैलाई नेपाली टोली लगाइएको छ ।
कार्यक्रममा जापानिज र अमेरिकी पर्यटक बाहेक अन्य देशका पर्यटकहरुलाई पनि सम्मान र स्वागत गरिएको छ । इटालीका टोलासी दासी, जर्मनका मार्टिन वेन्जेल जोहन्स बुचिङ्गर सहितलाई पनि सम्मान गरिएको छ । सम्मानपछि जापानकी कोमात्सुले आफू निकै आनन्दित र खुसी भएको बताउनु भयो ।
भारत उत्तर प्रदेशका विधायक पुस्कर धामीलाई पनि भ्रमण वर्षको उद्घाटन समारोहमा सम्मान तथा स्वागत गरिएको छ ।
औपचारिक कार्यक्रम समापनपछि जापानका कोमात्सु र अमेरिकाका रस्तोगी सहितका पर्यटकलाई सम्मानका साथ महेन्द्रनगर बजार ल्याएर परिक्रमा गराइएको छ ।
मदनचोकबाट सुरु भएर बजारमा परिक्रमा गरी खुला मञ्चमा पुगेर समापन गरिएको छ । विद्यार्थी सहित स्थानीयले पर्यटकहरुलाई विभिन्न स्थानमा स्वागत गरेका छन् । खुला मञ्चबाट पर्यटकलाई साँसद भट्ट, नगर प्रमुख विष्ट सहितले औपचारिक रुपमा विदाई गर्नु भएको छ ।
सरकारले नेपाल भ्रमण वर्षलाई पर्वका रुपमा मनाउने घोषणा गरेकाले सबै देशवासीले भव्य रुपमा मनाउनु पर्ने कञ्चनपुर क्षेत्र नं. ३ का साँसद डा.दिपक प्रकाश भट्टले बताउनु भयो । ‘यो सबै नेपालीका लागि पर्व हो, यसलाई सबैले धुमधामसंग मनाउनु पर्छ’ साँसद भट्टले भन्नु भयो, ‘देशको पश्चिमी सीमा नाका गड्डाचौकीमा पर्यटकलाई जुन सम्मान गरिएको छ, यो एकदमै राम्रो छ, पर्यटकलाई सम्मान गरी नेपालको आतिथ्यता संसारभर पुगाउनु पर्छ ।’
साँसद भट्टले भ्रमण वर्षका भीमदत्त नगरपालिका सहित सुदूरपश्चिम प्रदेशले लाभ लिनु पर्ने उल्लेख गर्दै पर्यटकीय स्थानको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन र पर्यटनलाई आर्थिक आम्दानीको स्रोत बनाउन सकिने बताउनु भयो । ‘यो देशको मान प्रतिष्ठा बढाउने र पर्यटनलाई आर्थिक आम्दानीसित जोड्ने राम्रो अवसर हो’ साँसद भट्टले भन्नु भयो ।
पश्चिमी सीमा नाका गड्डाचौकी देश प्रवेश गर्ने प्रमुख नाका भएर सरकारले त्रिदेशीय नाका बनाउन पहल सुरु गरेको साँसद भट्टले बताउनु भयो । ‘महाकाली कोरिडोर, महाकाली नदीमा चार लेनको पुल, सुख्खा बन्दरगाह लगायतका संरचना निर्माण भई रहेका छन्, यो नाकालाई त्रिदेशीय नाका बनाउने काम अघि बढेका छन्’ साँसद भट्टले भन्नु भयो ।
भारत उत्तर प्रदेशका विधायक पुस्कर सिह धामीले नेपाल भारतबीच वर्षाैदेखि आपशी सम्बन्ध बलियो हुँदै आएको उल्लेख गर्दै अतिथिलाई स्वागत गर्न दुबै देश्को संस्कृति भएको बताउनु भयो । सुदूरपश्चिम प्रदेश सभा सदस्य एवम् पूर्व उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री प्रकाश रावलले गड्डाचौकीको सम्मान कार्यक्रमले नेपाली संस्कृति र सम्मानको विश्वभर प्रचार भएको बताउनु भयो । ‘नेपालीहरु अतिथिलाई सम्मान गर्छन्, यो नेपालीको सभ्यता र संस्कृति हो भन्ने सन्देश विश्वभर जान्छ’ रावलले भन्नु भयो ।
कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सचिव दिवाकर पाण्डेयले काँग्रेसले भ्रमण वर्ष सफल पार्न सहयोग गर्ने बताउनु भयो । कार्यक्रममा भीमदत्त नगरपालिकाका पूर्व नगर उप प्रमुख ईश्वरी प्रसाद खरेलले भ्रमण वर्षमा अतिथिलाई स्वागत गर्न सराहनीय कार्य भएको बताउनु भयो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले भ्रमण वर्ष सफल पार्न भिजिट भीमदत्त घोषणा गरी मनाउन सुरु गरिएको बताउनु भयो । पर्यटनबाट नगरको विकास र समृद्धि सम्भव भएकाले नगरपालिकाले पर्यटन प्रवद्र्धन र भ्रमण वर्षलाई प्राथमिकता दिएको नगर प्रमुख विष्टको भनाई थियो ।
‘सबैको सहकार्य र सहयोगबाट भीमदत्तको समृद्धि र विकास हुन्छ, त्यसका लागि निरन्तर सहकार्य गरी अघि बढेका छौ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘समृद्ध नगर बनाउने सबैको चाहना हो, त्यसका लागि पर्यटन पनि प्रमुख क्षेत्र हो, त्यसैले पर्यटन प्रवद्र्धनलाई प्राथमिकता दिएर अघि बढेका छौ ।’
नगर प्रमुख विष्टले समृद्धि ल्याउन पर्यटन प्रवद्र्धन, त्यसलाई आय आर्जनसित जोड्न र वासिन्दालाई स्वरोजगार बनाउन भीमदत्त नगरपालिका प्राथमिकताका साथ अघि बढेको बताउनु भयो । ‘समृद्धि एकै रातमा आउने कुरा होइन, त्यसका लागि पर्यटन प्रवद्र्धनमा जोड दिएका छौ’ नगर प्रंमुख विष्टले भन्नु भयो । नगर प्रमुख विष्टले निजी, सहकारी र गैर सरकारी क्षेत्रसित सहकार्य र समन्वय गरी भ्रमण वर्ष सफल बनाइने बताउनु भयो ।
समापन कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य महेशदत्त जोशी, युवा नेता हेम बाबु लेखक लगायतले मन्तव्य राख्न भयो । उद्घाटन र समापनमा सुदूरपश्चिमका भुवा नाच, छलिया नाच, सखिया नृत्य लगायतका सँस्कृति प्रस्तुत गरिएको छ । यसैगरी उद्घाटन कार्यक्रममा पर्यटकहरुलाई सुदूरपश्चिमको खाद्य परिकार माणा, बटुक, ढिकरी लगायतका परिकार खुवाइएको छ ।
समाजसेवी उत्तम विष्टले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । भ्रमण वर्ष उद्घाटनका लागि भीमदत्त नगरपालिकाले गड्डाचौकी नाका गड्डाचौकीमा सुदूरपश्चिम र नगरपालिकाका पर्यटकीय तथा धार्मिक स्थल सहित पर्चा पम्पलेट होर्डिङ्ग बोर्डले सजाएको थियो । भीमदत्त नगरपालिकाले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सन् २०१९ लाई प्रचार र पूर्वाधारको वर्षका रुपमा मनाएको थियो ।