महेन्द्रनगर ३ असार ।
प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले कञ्चनपुरको भीमदत्त नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग गरेको छ । प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले बुधबार भीमदत्त नगरपालिकालाई पल्स अक्सिमिटर ५ थान, पिपिई सेट २० थान, थर्मल गन १ थान, थर्मामिटर १० थान, मास्क २ हजार पिस, स्यानिटाइजर ५ बोतल, स्टिमर ४ थान, फेस सिल्ड ५० थान र गम बुट ५ जोर सहयोग स्वरूप उपलब्ध गराएको छ । ती सामग्रीहरू भीमदत्त नगरपालिकाका उपप्रमुख सुशीला चन्द सिंह सहितका जनप्रतिनिधि र कर्मचारीहरूको रोहबरमा भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टलाई हस्तान्तरण गरिएको छ ।
कोभिड १९ महामारी रोकथाम तथा प्रतिकार्यको लागि प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले दि मेकानल फाउन्डेसनको सहयोगमा स्वास्थ्य सामग्रीहरू भीमदत्त नगरपालिकालाई उपलब्ध गराएको प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति लक्ष्मी साउदले जानकारी दिनुभयो ।
जल, जमिन र जङ्गलसँग सम्बन्धित विवादहरू समाधानमा सहजीकरण गर्दै मेलमिलापको क्षेत्रमा कार्यरत संस्था प्राकृतिक स्रोत द्वन्द्व रूपान्तरण केन्द्र नेपालले कोभिड महामारीको समयमा थोरै भएपनि स्थानीय तहलाई सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री उपलब्ध गराएको उहाँको भनाइ छ ।
सामग्री बुझ्दै भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र बिष्टले कोभिड महामारी नियन्त्रणको प्रयासमा मद्दत पुग्ने गरी स्वास्थ्य सामग्री सहयोग गरेकोमा सम्बद्ध सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।