महेन्द्रनगर, १५ माघ
भीमदत्त नगरपालिकाको वडा नं ९ को ब्रह्मदेव बजारमा बहुसांस्कृतिक संग्रहालय स्थापना गर्न लागिएको छ । आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी चार करोड रुपैयाँ लागतमा संग्रहालय भवन निर्माणको काम थालिएको हो ।
संग्रहालय भवनमा सुदूरपश्चिम प्रदेशका डोटेली र रानाथारु समुदायका संस्कृतिसँग सम्बन्धित सामग्रीहरुका राखिने वडाध्यक्ष राम नाथले जानकारी दिनु भयो । ‘लोप हुँदै गएका पहिरन, गहना, कला संस्कृति र रहनसहन, रीतिरिवाजलाई झल्काउने खालका सामग्रीहरु राखिनेछ,’ अध्यक्ष नाथले भन्नु भयो, ‘पर्यटकलाई आवश्यक अन्य सुविधासमेत संग्रहालय भवनबाट प्रदान गरिनेछ ।’
संग्रहालय भवन आधुनिक शैलीमा निर्माण गरिने वडाध्यक्ष नाथले जानकारी दिए । ब्रह्मदेव क्षेत्र भारतीय पर्यटकका लागि आकर्षक धार्मिक गन्तव्य रहीआएको छ । यहाँ अवस्थित सिद्धबाबा दर्शनका लागि बर्षेनी हजारौं भारतीय दर्शनार्थी ब्रह्मदेव क्षेत्रमा आउने गर्छन् । भारतले महाकाली नदीमाथि बनाएको बाँधसमेत यसै क्षेत्रमा रहेको छ ।
क्रान्तिकारी स्वर्गीय नेता भीमदत्त पन्तको ’नुन काण्ड’ भएको क्षेत्रका रुपमा समेत ब्रह्मदेव चर्चित छ । यस क्षेत्रबाटै परापूर्वकालमा नेपाल र भारतको व्यापार सञ्चालन हुने गरेको थियो । अझै पुराना व्यापारिक मण्डीका अवशेषहरु छन् ।