• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भारतीय क्वारेन्टाइनमा राखिएका नेपालीलाई स्वाथ्य जाँचपछि सिधै बासस्थान पुगाउन भीमदत्त नगरपालिकाको आग्रह

Byभीमदत्त अनलाइन

६ जेष्ठ २०७७, मंगलवार १०:०४ ६ जेष्ठ २०७७, मंगलवार १०:०४ ६ जेष्ठ २०७७, मंगलवार १०:०४

महेन्द्रनगर, ५ जेठ
भीमदत्त नगरपालिकाले भारतीय क्वारेन्टाइनमा राखिएका नेपाली नागरिकहरुलाई स्वास्थ्य जाँचपछि बासस्थानसम्म पुगाउन संघ र प्रदेश सरकारसंग आग्रह गरेको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको बैठकले स्वास्थ्य जाँच प्रक्रिया पूरा गरिएका नागरिकलाई सिधैं बासस्थानसम्म पुगाउन आग्रह गरेको छ ।

‘विश्वव्यापी महामारीका रुपमा फैलिएको (कोभिड १९) ले देशभरी लकडाउन रहेकाले भीमदत्त नगरपालिकाको सीमा नजिक रहेका नेपालीहरु भारतीय क्वारेन्टाइनमा बसी स्वास्थ्य सम्बन्धि सम्पूर्ण चेकजाँच पूरा गरी सकेकाको हकमा सिधैं उनीहरुको बासस्थानसम्म पुगाउनका लागि प्रदेश सरकार र संघ सरकारसंग अनुरोध गर्ने’ ४६ नगर कार्यपालिका बैठकको निर्णयमा उल्लेख गरिएको छ ।

कोरोना महामारी संक्रमण रोकथामका लागि भारतल लकडाउन घोषणा गरेपछि घर फर्किएका विभिन्न जिल्लाका वासिन्दाहरु सीमावर्ती भारतीय सहरका क्वारेन्टाइनमा राखिएका छन् । तीमध्ये अढाई सयलाई केही दिन अघि आफ्नो घर फर्काइएको छ ।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकमा कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि हालसम्म गरिएका कार्यको समीक्षा गरिएको छ । भीमदत्त नगरपालिका पश्चिमी सीमा नाका भएकाले सुरुदेखि कोरोना संक्रमण रोकथाम र नियन्त्रणका लागि सक्रिय रुपमा लागेको थियो ।

नगरपालिकाले महाकालीमा अस्पतालमा प्रयोगशाला निर्माण, मेडिकल उपकरण तथा स्वास्थ्थ जाँचका लागि आवश्यक किटको व्यवस्था गर्न समेत संघ र प्रदेश सरकारसंग आग्रह गरेको छ । कार्यपालिका बैठकबाट कोरोना भाइरस रोकथाम एवम् नियन्त्रणका लागि आवश्यक समन्वय, सहजीकरण तथा निर्देशनका लागि गठन गरिएको नगर स्तरीय निर्देशक तथा समन्वय समितिमा वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजकलाई सदस्यमा मनोनयन गर्ने निर्णय गरिएको छ ।

भीमदत्त नगरपालिका नगर कार्यपालिकाका प्रवक्ता हिमाल बहादुर चन्दले असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असहायहरुलाई उपलब्ध गराइने राहत सम्बन्धि मापदण्ड २०७६ मा मन्त्री परिषद्का निर्णयका बुँदा समेत समावेश गरी राहत वितरण निर्देशिका लागू गर्ने निर्णय गरिएको जानकारी दिनु भयो ।

भीमदत्त नगरपालिकामा मापदण्डका आधारमा यस अघि सात हजार भन्दा बढी परिवारलाई राहत वितरण गरिएको छ । नगरपालिकाले खाद्यान्नको समस्या भएका परिवारलाई प्रधानमन्त्री रोजागार कार्यक्रम लगायतका उत्पादन मुलक कार्यक्रममा सहभागी गराउने निर्णय गरिएको छ ।

कार्यपालिका बैठकले चालु आर्थिक वर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेटबाट सञ्चालित योजना तथा कार्यक्रम सम्पन्न गर्न नगरपालिका कार्यपालिकालाई निर्देशन दिइएको छ । नगर कार्यपालिकाले नगर क्षेत्रभित्रका सार्वजनिक जग्गा संरक्षण कार्य सञ्चालन गर्न नगरपालिका कार्यालयलाई निर्देशन दिएको छ ।

नगर प्रवक्ता चन्दले भीमदत्त नगरपालिकाको २५ वर्षे रणनीतिक गुरु योजनाका लागि थप सुझावका लागि कार्यालयलाई निर्देशन, क्वारेन्टाइन सञ्चालन तथा व्यवस्थापन समिति र राहत वितरण अनुमगन समिति अनुमोदन र नगर स्तरीय मुक्त हलिया पुनःस्थापना समस्या समाधान समिति गठन गर्ने निर्णय गरिएको जानकारी दिनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *