महेन्द्रनगर, २३ पुस
भीमदत्त नगरपालिकाका आदिवासी जनजाति समुदायका वासिन्दाहरु संस्कृति अध्ययनका लागि चितवन गएका छन् । आदिवासी जनजाति समुदायको संस्कृति संरक्षणका लागि अध्ययन गर्न चितवन भ्रमणमा गएका हुन् ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्ट र नगर उप प्रमुख सुशिला चन्द सिह लगायतले भ्रमण टोलीलाई टिका लगाएर विदाई गर्नु भएको छ । नगरपालिका कार्यालयमा विदाई कार्यक्रम गरिएको छ ।भीमदत्त नगरपालिका वडा नं. १३ को आदिवासी जनजाति समुदायको संस्कृति संरक्षण कार्यक्रम अन्र्तगत आदिवासी जनजाति समुदायका राना थारु र सुनाहा भ्रमणमा निस्किएका छन् ।
विदाई कार्यक्रममा नगर प्रमुख विष्टले चितवन अध्ययन भ्रमणबाट आदिवासी जनजाति समुदायको संरक्षणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । ‘आदिवासी जनजाति राना थारु, सुनाहा समुदाय संस्कृति र सभ्यताको धनी छन्, यो संस्कृति, सभ्यतालाई जोगाउन आवश्यक छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘अध्ययनबाट चितवनमा संस्कृति संरक्षणका लागि भएका काम, पहल प्रयास अध्ययन गर्दा संरक्षणमा सहयोग पुग्छ ।’
भीमदत्त नगरपालिकाले आदिवासी समुदायको संंस्कति संरक्षणका लागि कार्यक्रम सञ्चालन गर्र्दै आएकोमा निरन्तरता दिइने बताउनु भयो । भीनपा १३ ले गत वर्ष आदिवासी समुदायको संस्कृति संरक्षणका लागि साँस्कृतिक पोशाक वितरण गरेको थियो ।संस्कृति अध्ययन भ्रमणमा चितवन गएको सुनाहा समुदायलाई गत वर्ष मात्रै आदिवासी जनजातिमा सूचीकृति गरिएको थियो । माछा मार्ने परम्परागत पेशाभएको भीनपाका वडा नं. १२ र १३ मा बसोबास गर्दै आएको छ ।
भीनपा १३ का अध्यक्ष लाल बहादुर शाहीले भ्रमण टोलीले चितवनका विभिन्न स्थानमा आदिवासी जनजाति समुदायसंग सम्बन्धित चालचलन, भेषभुषा, रितिरिवाज, रहनसहन, गहना, मौलिक आहार लगायतका विषयको अध्ययन गर्ने बताउनु भयो । तीन दिने भ्रमणका लागि निस्किएको टोलीका सबै सहभागीहरुले आदिवासी जनजाति समुदायको मौलिक पहिरचन लगाएका छन् ।