महेन्द्रनगर, २७ मंसिर
भीमदत्त नगरपालिकाका दुई वडाका वासिन्दालाई खानेपानी पुगाउन खानेपानी योजना सञ्चालनमा आएको छ । भीनपा १६ र १७ का एक हजार परिवारका लागि ८ करोड १३ लाखमा वसन्तपुर खानेपानी योजना सञ्चालन गरिएको हो । अहिले खानेपानी योजनाको पाइप सर्भे सुरु गरिएको छ ।
पाइप लाइन सर्भेपछि योजनाका अन्य काम अघि बढ्ने भीनपा १६ का वडा अध्यक्ष सुरेन्द्र विष्टले बताए । ‘अहिले पाएइप लाइन सर्भेको काम भई रहेको छ , यसपछि अन्य काम अघि बढ्छन्’ वडा अध्यक्ष विष्टले भन्नु भयो ।
मझगाउँ विमानस्थल नजिक नसरीको जग्गाको योजना निर्माण हुन लागेको छ । योजनाका लागि स्थानीयबाट एक प्रतिशत अर्थात ८ लाख बढी लागत सहभागिता अर्थात संकलन हुनु पर्नेछ । त्यसमध्ये ६ लाख रकम संकलन गरिएको
छ । बाँकी रकम संकलन कार्य भई रहेको वडा अध्यक्ष विष्टले जानकारी दिनु भयो ।
वडा अध्यक्ष विष्टले दुबै वडाका वासिन्दालाई शुद्ध खानेपानी उपलब्ध गराउन खानेपानी योजना सञ्चालन गरिएको बताउनु भयो । ‘सबै वासिन्दालाई शुद्ध खानेपानी खुवाउन चाहन्छौ, त्यस अनुसार योजना सञ्चालनको काम अघि बढेको छ’ अध्यक्ष विष्टले भन्नु भयो ।
स्थानीय तह निर्वाचनपछि ती दुबै वडामा पहिलो पटक खानेपानी योजना सञ्चालनमा आएको हो । अहिले स्थानीले हेण्ड पम्पको पानी प्रयोग गर्दै आएका छन् । भीनपा १७ का वडा अध्यक्ष हिमाल बहादुर चन्दले खानेपानी योजना सफल बनाउन वडा कार्यालयले सक्दो सहयोग गर्ने बताउनु भयो ।