महेन्द्रनगर, २४ असोज
भीमदत्त नगरपालिका वडा नं. ५ वडा स्तरीय खुल्ला कबड्डी प्रतियोगिता सुरु भएको छ । वनगाउँस्थित सत्यवादी माध्यमिक विद्यालयको प्राङ्गणमा सुरु प्रतियोगितामा १६ टीम सहभागी भएका छन् ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले शुक्रबार उद्घाटन गर्नु भयो । सो अवसरमा नगर प्रमुख विष्टले भीमदत्तलाई खेलकूदमैत्री नगरका रुपमा चिनाउन खेलकूदलाई प्राथमिकता दिइएको उल्लेख गर्दै हरेक वडामा खेल प्रतियोगिता आयोजना गरिएको बताउनु भयो ।
‘भीमदत्तलाई खेलमैत्री नगरका रुपमा अघि बढाउन चाहन्छौ, खेलकूदको विकास, खेलाडी उत्पादन, खेलाडीको सम्मानका लागि भीमदत्त नगरपालिका सदा प्रतिवद्ध छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘खेलकूदको विकासका लागि हरेक वडामा प्रतियोगितामा आयोजना गरिरहेका छौ, यसलाई निरन्तरता दिन्छौ ।’ सामाजिक विकास समितिले खेलकूद क्षेत्रको विकासका लागि वार्षिक योजना बनाइ रहेको नगर प्रमुख विष्टले बताउनु भयो ।
स्थानीय तह निर्वाचनपछि विद्यालय र क्लबलाई खेलाडी उत्पादनका लागि प्राथमिकता दिएर छनौट गरिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले एक वडा एक खेल मैदान निर्माण अघि बढेको बताउनु भयो । ‘अहिले एक वडा एक खेल मैदान निर्माण गरिरहेका छौ, हरेक वडामा खेल प्रतियोगिता आयोजना गरिरहेका छौ’ नगर प्रमुद विष्टले भन्नु भयो,‘यसले खेलकूदको विकास हुने विश्वास लिएका छौ ।’
स्थानीय तह निर्वाचनमाा गरिएका वाचा अनुसार समृद्ध नगर बनाउन सबै नगरवासीको सहयोगको आवश्यक हुने उल्लेख गर्दै नगर प्रमुख विष्टले खेलकूद मैत्री नगर बनाउन महाकाली नदीमा साहसिक जलयात्रा, हाफ म्याराथन दौड, मेयर कप भलिबल लगायतका प्रतियोगिता गरिएको बताउनु भयो ।
उद्घाटन कार्यक्रमका विशिष्ठ अतिथि नगर उप प्रमुख सुशिला चन्द सिहले वडा स्तरीय कबड्डी प्रतियोगिताबाट खेलाडी उत्पादनमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो । वडा अध्यक्ष मदन बहादुर चन्दको अध्यक्षतामा गरिएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक भीनपा ६ का अध्यक्ष हरक सिह धामीले वडा कार्यालयले कबड्डी प्रतियोगिता आयोजना गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रममा नगर प्रमुख विष्टले ब्यानर अनावरण र पानसमा दिप प्रज्वलन गरी प्रतियोगिताको उद्घाटन गर्नु भयो ।
यसैगरी कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विष्टले सिटी र स्टप वाच रेफ्री संयोजक यज्ञ प्रसाद शर्मालाई हस्तान्तरण गर्नु भयो ।
उद्घाटन कार्यक्रममा नगर प्रवक्ता भीनपा १८ का अध्यक्ष राजेन्द्र पाण्डेय, वडा नं. १० का अध्यक्ष प्रमानन्द जोशी, वडा नं. ९ का अध्यक्ष राम नाथ, वडा नं. ७ का अध्यक्ष शंकर बहादुर कुँबर, वडा नं. १७ का अध्यक्ष हिमाल बहादुर चन्द, कार्यपालिका सदस्य मदन सिह सेराला लगायतका सहभागी भएका छन् ।
चार दिनसम्म सञ्चालन हुने प्रतियोगितामा प्रथम हुनेलाई २० हजार, द्वितीयलाई १० हजार र तृतीयलाई ५÷५ हजार नगद पुरस्कार सहित प्रमाण पत्र प्रदान गरिने वडा अध्यक्ष चन्दले बताउनु भयो । वडा सदस्य राधिका थापाले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । उद्घाटन खेल आयोजक वडा नं. ५ को टीम ए र र भीनपा ८ बीच जारी छ ।