महेन्द्रनगर, २७ चैत
भीमदत्त नगरपालिका–६ मा लकडाउनले अप्ठेरोमा परेका वासिन्दाका लागि राहत संकलन सुरु गरिएको छ । वडा स्तरीय खाद्य व्यवस्थापन समिति बिहीबारदेखि राहत संकलनमा जुटेको छ ।
कोरोना भाइरस संक्रमण रोकथामका लागि लकडाउन गरिएपछि भीमदत्त नगरपालिकाका सबै वडामा वासिन्दालाई खाद्य आपूर्तिका लागि खाद्य व्यवस्थापन समिति गठन गरिएका छन् । भीनपा ६ को वडा स्तरीय खाद्यान्न व्यवस्थापन समितिले सरकारको राहत निर्देशिकामा छुटेका असंगठित क्षेत्रका मजदुर, विद्यार्थी सहित विपन्न परिवारका लागि राहत संकलन सुरु गरेको छ ।
वडा स्तरीय खाद्यान्न व्यवस्थापन समितिका संयोजक वडा नं. ६ का अध्यक्ष हरक सिह धामीले लकडाउनका कारण समस्यामामा परेका विद्यार्थी, असंगठित क्षेत्रका मजदुर, विपन्न, दलित समुदायका लागि राहत संकलन सुरु गरिएको बताउनु भयो ।
‘यो वडा स्तरीय खाद्यान्न व्यवस्थापन समितिले वडाभित्र रहेका गरीब, विपन्न, विद्यार्थी, असंगठित क्षेत्रका लागि वडाभित्रैबाट सहयोग संकलन गरिएको छ’ वडा अध्यक्ष धामीले भन्नु भयो, ‘समितिले सहयोगका लागि सबैलाई आव्हान गरेको छ, त्यस अनुसार सहयोग गरिएको छ, आजै बिहीबार पनि कलेज, विद्यालय सहित विभिन्न व्यक्तिले सहयोग गरेका छन्, सबैलाई धन्यवाद छ ।’
वडा अध्यक्ष धामीले भीमदत्त नगरपालिकाको राहत प्याकेज वितरणका दिन संकलित राहत समेत वितरण गरिने बताउनु भयो । भीमदत्त नगरपालिकामा सरकारी मापदण्ड अनुसार राहत वितरण सुरु गरिएको छ । ‘नगरपालिकाले बाँड्ने प्याकेज छुट्टै हो, वडाले वडाबाटै संकलन गरि बाँड्न छुट्टै हो’ वडा अध्यक्ष धामीले भन्नु भयो ।
राहत संकलनको पहिलो दिन बिहीबार अमिटी कलेज, सन्त निरङ्कारी मण्डल, लिटिल स्टार पब्लिक स्कुल, नव प्रतिभा स्कुल, कमल चन्द, कमल चटौत, दिलेन्द्र रावल र हरि चन्दले सहयोग गुर्न भएको छ ।
अमिटी कलेजले वडा कार्यालयलाई एक लाख सहयोग गरेको छ । कलेजका प्रिन्सिपल रबिन्द्र अवस्थीले वडा अध्यक्ष धामीलाई एक लाखको चेक हस्तान्तरण गर्नु भयो ।
यसैगरी सन्त निरङ्कारी मण्डल, लिटिल स्टार र नव प्रतिभाले १०÷१० हजार सहयोग गरेका छन् । मण्डका अध्यक्ष नर बहादुर बिक, लिटिल स्टारका संस्थापक शमरजङ्ग बहादुर चन्द र नव प्रतिभाका प्रिन्सिपल बीर बहादुर चन्दले रकम हस्तान्तरण गर्नु भयो ।
पिके इटा भट्टका सञ्चालक कमल चन्दले १० हजार, दिलेन्द्र रावलले ११ हजार र कमल चटौत १० हजार र हरि चन्दले २ हजार सहयोग गुर्न भएको छ । वडा कार्यालयमा कार्यक्रम गरी राहत सहयोग संकलन सुरु गरिएको छ । भीनपा ६ ले नगरपालिकामा राहतका लागि ३ सय २० जनाको नामावली पठाएको छ ।
वडा कार्यालयले विदेशमा रहेका वडा वासीलाई समेत सहयोगका लागि अपील गरेको छ । वडा स्तरीय खाद्य व्यवस्थापन समितिका सदस्य पिके इटा उद्योग कमल चन्द र समाजसेजी दिलेन्द्र रावलले राहत संकलन कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गरेको वडा अध्यक्ष धामीले बताउनु भयो ।