महेन्द्रनगर, २८ कार्तिक
भीमदत्त नगरपालिकाले किसानहरुलाई उन्नत जातको गहुँको बिऊ वितरण गरेको छ । नगरपालिकाका सबै वडाका तीन सय बढी किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बिऊ वितरण गरिएको छ ।
भीनपा आर्थिक विकास शाखा कृषि विकास उप शाखाका कृषि विकास अधिकृत कृष्णदत्त पाण्डेयले नगरपालिका सबै वडाका किसानलाई समेटेर उन्नत जातको गहुँको बिऊ वितरण गरिएको बताउनु भयो ।
कृषि विकास अधिकृत पाण्डेयका अनुसार किसानहरुलाई २६ हजार किलोग्राम उन्नत जातको गहुँको बिऊ र दुई हजार किलोग्राम मूल बिऊ विरतण गरिएको छ । ‘ यस वर्ष तीन सय ५० को हाराहारी किसानलाई उन्नत जातको गहुँको बिऊ र मूल बिऊ वितरण गरिएको छ’ कृषि विकास अधिकृत पाण्डेयले भन्नु भयो,‘त्यसमा आदित्य, बिजय, बाणगंगा जातको् बिऊ छ, त्यो ५० प्रतिशत अनुदनमा वितरण गरिएको छ, यसमा हो ।’
स्थानीय तह निर्वाचनपछि नगरपालिकामा पहिलो वर्षदेखि किसानलाई अनुदानमा गहुँको बिऊ वितरण सुरु गरिएको थियो । यस वर्ष पनि यसलाई निरन्तरता दिइएको हो । नगरपालिकाले सार्वजनिक सूचना आव्हान गरी उन्नत जातको गहुँको बिऊ खरिद गरी किसानलाई वितरण गरिएको छ ।
गोबरैयास्थित निङ्गलाशैनी बहुउद्देश्यीय सहकारी संस्था लि.ले नगरपालिकालाई बिऊ उपलब्ध गराएको हो । यसका लागि प्रति किलो ६४ रुपैँयाका दरले निङ्गलाशैनी सहकारीसित सम्झौता गरिएको छ । ‘कार्यालयले सार्वजनिक सूचना आव्हान गरी न्यूनतम अंक भएको निङ्गलाशैैनी सहकारीलाई छनौट गरी बिऊ खरिदको सम्झौता गरिएको हो’ कृषि विकास अधिकृत पाण्डेयले भने,‘सम्झौतापछि सहकारीले बिउल उपलब्ध गराएपछि किसानलाई बाँडिएको छ ।’
सहकारीसित सम्झौतापछि सहकारीले सुन्दरपुरस्थित बिऊ बिजन केन्द्रको प्रयोगशालामा जाँच गरिएको कागज पेश गरेको कृषि विकास अधिकृत पाण्डेयले बताउनु भयो । ‘गहु बिजन प्रयोगशाला सुन्दरपुरबाट जाँच गरिएको छाप सहितको कागजपत्र दिइएको छ, त्यसपछि प्रक्रिया पूरा गरी वितरण गरिएको छ’ कृषि विकास अधिकृत पाण्डेयले भन्नु भयो, किसानलाई वितरण गर्दा बोरा खोलिएर राखिएको छ, किसानले हेरेर लगेका छन् ।’
कृषि विकास अधिकृत पाण्डेयले किसानका अगाडि बोरा खोलेर बाँडिएको बिऊ किराले खाएको भनेर गलत प्रचार गरिएकोमा दुःख व्यक्त गर्नु भयो । ‘किसानले लैजाने बेलामा बोरा खोलिएको छ, हेरेर लग्न भनेका थियौ, सबैले लएकाएक आएर किराले खाएको भनेर गलत प्रचार गरियो’ कृषि विकास अधिकृत पाण्डेयले भन्नु भयो,‘यसमा दुःख लागेको छ, यो सही होइन ।’
किसानले बिऊ लैजाने क्रममा कृषि विकास अधिकृत पाण्डेयले किसानलाई टयाग लिएर जान र केही समस्या आएपछि कार्यालयमा आउन आग्रह समेत गर्नु भएको थियो । ‘पछि उत्पादन नहुने, जातीय गुण नभएको भए क्षति पूर्ति दिन सकिन्छ भनेर त्यो बेला टयाग लिएर आउनु होला भनेका थियौ’ कृषि विकास अधिकृत पाण्डेयले भन्नु भयो ।
टयाग लिएर अहिलेसम्म नगरपालिकामा कोही पनि नआएको कृषि विकास अधिकृत पाण्डेयले बताउनु भयो । उन्नत जातको गहुँको बिऊका लागि नगरपालिकाका कृषि विकास उप शाखामा तीन सय एक जनाले निवेदन दिएका थिए । निवेदन दिएका सहित तीन सय ५० को हाराहारीमा उन्नत जातको गहुँ बिऊ वितरण गरिएको छ ।
भीनपा आर्थिक विकास समितिका संयोजक डम्मर सिह कार्कीले कृषि क्षेत्रको विकास र व्यवसायीकरणका लागि किसानहरुलाई उन्नत जातको बिऊ वितरण गरिएको बताउनु भयो । ‘कृषिलाई व्यवसायीकरण र आधुनिकीकरण गर्नको विकल्प नै छैन’ आर्थिक विकास समितिका संयोजक कार्कीले भन्नु भयो,‘त्यसका लागि उन्नत जातको गहुँको बिऊ वितरण गरिएको छ, यसलाई निरन्तरता दिन्छौ ।’