महेन्द्रनगर, १९ साउन
भीमदत्त नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतले कार्यालयका शाखा प्रमुखहरुसित कार्य सम्पादन सम्झौता गर्नु भएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले प्रमुख प्रशासकीय अधिकृतसित कार्य सम्पादन सम्झौता गरेको केही दिनपछि शाखा प्रमुखसित सम्झौता गरिएको छ ।
भीमदत्त नगरपालिकाका कार्य वाहक नगर प्रमुख प्रमानन्द जोशीको उपस्थितिमा निमित्त प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले शाखा प्रमुखहरुसित कार्य सम्पादन सम्झौतामा हस्ताक्षर गर्नु भयो ।
प्रमुख प्रशासकीय अधिकृत भट्टको कार्यकक्षमा गरिएको कार्यक्रममा सम्झौता पत्रमा हस्ताक्षर गरी शाखा प्रमुखहरुलाई प्रदान गरिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत भट्टले भीमदत्तका नगरपालिकाका कार्य सम्पादनलाई प्रभावकारी बनाउन शाखा प्रमुखसित कार्य सम्पादन सम्झौता गरिएको बताउनु भयो ।
‘नगर प्रमुखज्यूले मसित सम्झौता गर्नु भएको छ, आज मैले शाखा प्रमुखहरुसित सम्झौता गरेको छु, यसबाट नगरको समृद्धि र विकासका लागि सबै शाखा प्रमुखको कार्य सम्पादन प्रभावकारी हुने आशा लिएको छु’ वहाँले भन्नु भयो । भीमदत्त नगरपालिकाका ९ शाखा छन् । सबै शाखाका प्रमुखहरु कार्यक्रममा सहभागी भएका छन् ।
कार्यक्रममा कार्य वाहक नगर प्रमुख जोशीले कार्य सम्पादन सम्झौताले नगरको विकास र समृद्धिमा सहयोग पुग्ने बताउनु भयो । भीमदत्तका प्रमुख प्रशासकीय अधिकृत हरिसिह धामीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।