महेन्द्रनगर, २१ जेठ
भीमदत्त नगरपालिकामा चक्रपथ (रिङ्गरोड) कालोपत्रे सुरु गरिएको छ । भीमदत्त नगरपालिकाको नगर गौरबको योजना चक्रपथको बाह्य चक्रपथको ब्रह्मेब तिल्केनी खण्डमा कालोपत्रे सुरु गरिएको हो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको ब्रह्मदेब तिल्केनी खण्डको जिरो पोइन्टमा कालोपत्रे निर्माण कार्यको शिलान्यास गर्नु भयो । शिलान्यासपछि नगर प्रमुख विष्टले चक्रपथ कालोपत्रे निर्माण कार्यले वर्षौदेखिको नगर वासिन्दाहरुको सपना साकार हुन लागेको बताउनु भयो ।
‘चक्रपथ वर्षौदेखिको सपना हो, ब्रह्मदेब तिल्केनी खण्डमा कालोपत्रे सुरु गरिएको छ, अरु ठाउँमा पनि काम अघि बढेका छन्’ नगर प्रमुख विष्टले भन्नु भयो,‘अब नगर वासीको सपना साकार हुन लागेको छ, यसका लागि सहयोगी सबैमा धन्यवाद दिन चाहन्छौ ।’
नगर प्रमुख विष्टले बाह्य चक्रपथले भीमदत्त नगरलाई समृद्ध बनाउने, वन र जमिनको सीमा छु्ट्याउने, वासिन्दालाई यातायात सुविधा र विपन्न वासिन्दाको जीवन स्तरमा सुधार ल्याउने बताउनु भयो । ‘यो मार्गलाई रणनीतिक सडकका रुपमा विकास गरी स्रोत मार्गको रुपमा विकास गर्ने लक्ष्य लिइएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो ।
दुई वर्षमा बाह्य चक्रपथ कालोपत्रे गर्ने लक्ष्यका साथ ब्रह्मदेब तिल्केनी खण्डमा कालोपत्रे सुरु गरिएको छ । भीमदत्तका सबै १९ ओटै वडालाई यातायात सञ्जालसित जोड्न बाह्य चक्रपथ निर्माण गरिएको हो । बाह्य चक्रपथ ८३ किलोमिटर लम्बाईको छ ।
स्थानीय तह निर्वाचन निर्वाचनमा नगर प्रमुख विष्टले बाह्य र भित्री चक्रपथ बनाउने प्रतिवद्धता गर्नु भएको थियो । चुनावी प्रतिवद्धता अनुसार बाह्य र भित्री चक्रपथ निर्माणलाई प्राथमिकता दिइएको छ । २६ किलोमिटर भित्री चक्रपथको सर्भे गरिएको छ । ब्रह्मदेब तिल्केनी खण्डको तीन किलोमिटर सडक कालोपत्रेका लागि शनिदेब पिएस उच्चाकोटी जेभीले ठेक्का ५ करोड ६७ लाखमा ठेक्का दिइएको छ ।
भीमदत्त नगरपालिकाका इन्जिनियर हिमालय सिह ऐरले नाली, फुटपाथ सहितको कालोपत्रे कार्य एक वर्षमा सकिने बताउनु भयो । ‘१८ मिटर सडकमा नाली, फुटपाथ र त्यो बाहिर वृक्षारोपण हुन्छ, ५ ओटा कल्भर्ट निर्माण बन्ने छन्’ इन्जिनियर ऐरले भन्नु भयो,‘यसमा दुई तीन ओटा ठूला पुल पनि बनाउनु पर्नेछ ।’
सडक कालोपत्रे सुरु भएपछि स्थानीय घाँडीघाँच क्षेत्र विकासमा फड्को मार्ने आश गरेका छन् । ब्रह्मदेबका स्थानीय शंकर सिह विष्टले सडकले उत्तरी क्षेत्रका वासिन्दालाई सुविधा पुग्ने बताउनु भयो ।‘बाटो पुगेपछि फाइदा हुन्छ, बजार विस्तार हुन्छ, गाडी मोटर चल्छन्,’ स्थानीय विष्टले भन्नु भयो ।
रौटेलादेखि ब्रह्मदेबसम्मका निर्माण गरिएको धार्मिक पर्यटकीय मार्ग र शुक्लाफाँटा किनारको झोलुङ्गे पुलदेखि बाँगफाँटा शुक्लाफाँटा पर्यटन मार्गलाई जोडेर बाह्य चक्रपथ बनाउन लागिएको हो । अहिले भीमदत्त नगरपालिका २, भीनपा १९, १५ र १४ मा बाह्य चक्रपथ निर्माण गरिएको छ ।
भीनपा १९ देखि १५ सम्म सडक डिभिजन कार्यालयले ७ दशमलव ५ किलोमिटर सडक कालोपत्रे गर्न लागेको छ । निर्वाचन क्षेत्र कार्यक्रम अन्र्तगत कालोपत्रेका लागि १० करोड ठेक्का गरिएको छ ।
भीनपा १४ मा सघन सहरी विकास कार्यक्रम अन्र्तगत शुक्लाफाँटा पर्यटन मार्गमा बाह्य चक्रपथ कालोपत्रे निर्माण गरिएको छ । भीनपा २ मा भाँसी पुलदेखि काङला खोला किनार ६ दशमलव ५ किलोमिटर सडकको ट्रयाक खोलिएको छ ।
भीमदत्त नगरपालिका ९ का अध्यक्ष राम नाथले बाह्य चक्रपथ निर्माणले उत्तरी क्षेत्रमा यातायात सुविधा र पर्यटन विकासमा सहयोग पुग्ने बताउनु भयो । ‘यो मार्गबाट उत्तरी क्षेत्रका वासिन्दालाई यातायात सुविधा त पुग्न नै छ, त्यसैगरी धार्मिक पर्यटन विकासको हुन्छ’ वडा अध्यक्ष नाथले भन्नु भयो,‘यसबाट यो क्षेत्रको विकास हुन्छ, रोजगारका अवसर आउँछन्, जनतालाई फाइदा नै हुन्छ ।’
शिलान्यास कार्यक्रममा भीनपा १० अध्यक्ष प्रमानन्द जोशी, निर्माण व्यवसायी देबीदत्त भट्ट सहभागी हुनु भएको थियो ।