महेन्द्रनगर, १४ चैत
भीमदत्त नगरपालिकामा कोरोना भाइरस संक्रमण (कोभिड १९ ) का विरामी राख्नका लागि एक सय शैय्याको क्वारेन्टाइन तयार गरिएको छ । महेन्द्रनगर नयाँ वसपार्क नजिक अनमी तथा सिएमए तालिम केन्द्र (आइसिएच) मा सय शैय्याको क्वारेन्टाइन स्थापना गरिएको हो ।
भीमदत्त नगरपालिकाकाले कोरोना संक्रमण फैलिएपछि नेपाली सेनासित समन्य र सहकार्य गरी क्वारेन्टाइन स्थापना गरेको हो । आइसिएचका प्रतिनिधि सहित नगरपालिका कार्यालयमा बसेको सरोकारवाला निकायको बैठकले कोरोना संक्रमितका लागि आइसिएचको एक सय शैय्या भएको भवनमा क्वारेन्टाइने बनाउने निर्णय गरेको थियो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना संक्रमणको महामारीलाई मध्यनजर गरी नेपाली सेनाको सहयोगमा एक सय शैय्याको क्वारेन्टाइन स्थापना गरिएको बताउनु भयो । ‘अहिले विश्वव्यापी रुपमा कोरोनाको महामारी फैलि रहेको छ, पश्चिमी सीमा नाका कारण भीमदत्त नगरपालिकाको कोरोनाको उच्च जोखिममा छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘यो अवस्थामा कोरोना संक्रमित व्यक्ति भेटिएमा तत्काल राख्नका लागि क्वारेन्टाइन स्थापना गरिएको छ, यसमा नेपाली सेना सहित सरोकारवाला निकायको सहयोग छ, त्यसका लागि सबैलाई धन्यवाद दिन्छु ।’
नगर प्रमुख विष्टले कोरोना संक्रमणलाई मध्यनजर गरी थप स्थानमा क्वारेन्टाइन स्थापना गरिने जानकारी दिनु भयो । विभिन्न विद्यालयहरुले क्वारेन्टाइन स्थापनाका लागि नगरपालिकालाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् ।
भीमदत्त नगरपालिकाले कोरोना संक्रमण रोकथामका लागि पश्चिमी सीमा नाका गड्डाचौकीमा हेल्थ डेस्थ स्थापना गरी स्वास्थ्य जाँच गर्दै आएको छ । पश्चिमी सीमा नाकामा ६० हजार बढीको स्वास्थ्य जाँच गरिएको छ । सरकारले देशभर लकडाउन घोषणा गरिएको अघिल्लो दिन स्थानीय प्रशासनले कञ्चनपुरमा लक डाउन गरेको थियो । लकडाउन गरिएपछि सीमा नाकाबाट आवागमन बन्द गरिएको छ ।
गड्डाचौकी नाकामा जाँच गरिएकामध्ये दुई जनालाई कोरोना संक्रमणको आशंकामा महाकाली अस्पताल पठाइएको थियो । उनीहरुको रगत जाँचका लागि राजधानी पठाइएको छ । ‘गड्डाचौकीमा हेल्थ डेस्कमा जाँच गर्दा दुई जनालाई आशंका गरी अस्पताल पठाइएको थियो, त्यो बाहेक अरुमा आशंका गरिएको जानकारी आएको छैन’ नगर प्रमुख विष्टले भन्नु भयो,‘यदि कसैमा कोरोनाको संक्रमण देखिएमा तत्काल क्वारेन्टाइनमा राख्छौ, त्यसका लागि टीम तयारी अवस्थामा छ ।’