• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तका मेयरको सुदूरपश्चिम प्रदेशमै यस्तो सराहनीय काम

Byभीमदत्त अनलाइन

२७ जेष्ठ २०७७, मंगलवार १९:५० २७ जेष्ठ २०७७, मंगलवार १९:५० २७ जेष्ठ २०७७, मंगलवार १९:५०

महेन्द्रनगर, २७ जेठ
भीमदत्त नगरपालिकाले कोरोना संक्रमण जाँचका लागि पिसिआर मेसिन खरिद गर्ने भएको छ । दैनिक रुपमा बढी रहेका कोरोना संक्रमित विरामीको संख्यालाई मध्यनजर गरी परीक्षण दायरा बढाउन मेसिन खरिद गर्न लागिएको हो ।

भीमदत्त नगरपालिकाको कोडिभ १९ रोकथाम तथा नियन्त्रण सम्बन्ध निर्देशक एवमु समन्वय समितिले मंगलबार मेसिन खरिद गर्ने निर्णय गरेको छ । भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा समिति कोरोना रोकथाम र नियन्त्रणका लागि सक्रिय छ ।

समितिका संयोजक नगर प्रमुख विष्टले कोरोना संक्रमण परीक्षणको दायरा बढाएर महामारी फैलिन नदिन मेसिन खरिद गर्ने निर्णय गरिएको बताउनु भयो । ‘संक्रमणको उच्च जोखिम छ, अब आउने संकटसंग समाना गर्न पनि तयार हुनस पर्ने छ, त्यसका लागि परीक्षणको दायरा बढाउन आवश्यक छ’ नगर प्रमुख विष्टले भन्नु् भयो, ‘यसका लागि मेसिन आवश्यक छ, त्यसैले खरिद गर्ने प्रक्रियामा गएका हौ ।’

सुदूरपश्चिम प्रदेशमा पिसिआर मेसिन खरिद गर्ने भीमदत्त नगरपालिका पहिलो स्थानीय सरकार हो । सुदूरपश्चिमका ८८ स्थानीय तहका वासिन्दाका लागि कैलालीको धनगढीस्थित सेती अस्पतालमा एउटा पिसिआर मेसिन जडान गरिएको
छ ।

सेती अस्पतालको पिसिआर मेसिनबाट परीक्षण दायरा बढाउन नसकिने अवस्था देखिएपछि भीमदत्त नगरपालिका मेसिन खरिदका लागि अघि बढेको हो । केही दिनदेखि सामाजिक सञ्जालमा पिसिआर मेसिन बढाउन तीनै तहका सरकारमाथि खबाव बढेको छ ।

महाकाली अस्पतालले सञ्चालन गर्ने मेसिन खरिदका लागि मंगलबार विज्ञ सहित नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसित छलफल गरिएको छ । विज्ञका सुझाव अनुसार २५ दिनभित्र मेसिन सञ्चालनमा आउने गरी प्रक्रिया थालिएको छ ।

‘पिसिआर मेसिनका लगि केही सर्पोटेड उपकरण भेटेरिनरी अस्पतालमा पनि छन, तिनीहरुलाई पनि प्रयोग गछौँ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘तुरुन्तै खरिद प्रकृया अघि बढाउन र विज्ञको सल्लाह अनुसारै २५दिनभित्रै मेसिन संचालनमा ल्याउने हिसाबले गृहकार्य भईरहेको छ ।’

नगर प्रमुख विष्टले मेसिनका लागि चाहिने बजेट र जनशक्ति व्यवस्थापनमा समस्या नहुने बताउनु भयो । ‘मेसिनको स्फेकिफेसनका लागि विज्ञलाई पत्राचार गरिसकेका छौँ, नगर प्रमुख विष्टले भन्नु भयो, ‘सबैभन्दा ठूलो विषय जनताको स्वास्थ हो, मेसिनको गुणस्तरसंग कुनै सम्झौता गरिदैन्, बजेट कम हुन दिइदैन ।’

भीमदत्त नगरपालिकाले यस अघि परीक्षण दायरा बढाउन पिसिआर मेसिन बढाउन पटक पटक संघ र प्रदेश सरकारलाई आग्रह गर्दै आएको छ । संघ र प्रदेश सरकारबाट मेसिन आउने सम्भावना नभएपछि नगरपालिका आफै. खरिद गर्न लागेको हो । ‘महाकाली अस्पतालमा पिसिआर मेसिन खरिदका लागि पटक पटक ताकेदा गर्दा समेत दुवै सरकारबाट कुनै चासो देखिएन’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘त्यहीं भएर अहिले मेसिन खरिद गर्ने लागेका छौ ।’

नगरपालिको सार्वजनिक खरिद ऐनका आधारमा इबिडिङ्ग मार्फत खरिद गर्ने भएको छ । त्यसका लागि प्रक्रिया सुरु गर्न नगर प्रमुख विष्टले कार्यालयलाई निर्देशन दिनु भएको छ । पश्चिमी सीमा नाकाका कारण भीमदत्त नगरपालिका कोरोना उच्च जोखिममा रहेको भन्दै नगर प्रमुख विष्टले सुरुदेखि संघ र प्रदेश सरकारलाई दबाव दिदैं आउनु भएको थियो ।

महाकाली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णदत्त जोशी(बोक्सर)ले भीमदत्त नगरपालिकाले अघि सारेको योजना सरानिय भएको बताउनु भयो । ‘ जनशक्ति किटका लागि आवश्यक पहल थाल्छौँ, ‘अध्यक्ष जोशीले भन्नु भयो, महाकाली अस्पतालमा मेसिन जडान गर्ने विषयमा पहिल्यैदेखि प्रदेश र संघीय सरकारसंग आग्रह गर्दै आएको छ ।’

नगरपालिकाले पिसिआर मेसिन खरिद, शव बहान लगायतका कोरोना जोखिम न्यूनिकरणका लागि उच्च सुरक्षा सर्तकता एव तयारी थालेको छ । भीमदत्त नगरपालिकाले मेसिन खरिद गर्ने निर्णयको चौतर्फी स्वागत गरिएको छ । सामािजक सञ्जालमा विभिन्न क्षेत्रका व्यत्तिले नगर प्रमुख विष्टको प्रशंसा गरेका छन् ।

महाकाली अस्पतालमा पिसिआर मेसिन नहुँदा संक्रमितको स्वाब संकलन गरी धनगढी पठाएर जाँच हुने गरेको छ । धनगढी पठाएर रिपोर्ट आउन कम्तिमा चार दिन लाग्ने गरेको स्वास्थ्यकर्मी बताउँछन् । जेठ तेस्रो सातापछि कञ्चनपुरमा एकाएक कोरोना संक्रमितको संख्या बढेको छ । हालसम्म कञ्चनपुरमा ३२ जनामा कोरोना संक्रमण प्ुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *