महेन्द्रनगर । भीमदत्त नगरपालिका –९ खल्ला टुँडिखेल र मुसेट्टीमा विद्युत सेवा सञ्चालनमा आएको छ । भीमदत्त नगरपालिका र नेपाल विद्युत प्राधिकरणको सहकार्यमा तीन विद्युत लाइन जडान गरी सेवा सञ्चालन गरिएको हो ।
भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले खल्लास्थित भीमदत्त स्मृति आधारभूत विद्यालयमा आयोजित औपचारिक कार्यक्रममा चीम (बल्ब) बालेर सेवा उद्घाटन गर्नु भएको छ ।
विद्युत सेवा उद्घाटनपछि मेयर विष्टले तीन वस्तीमा वर्षौदेखि अध्याँरो अन्त्य भएर उज्यालो बनेको उल्लेख गर्नु भयो । ‘पारीपट्टि उज्यालो देखिँदा यता अँध्यारो देखिन्थ्यो, त्यहीं भएर विद्युत विस्तारका लागि लाग्यौ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘अब यताको उज्यालो पनि उता फर्कन्छ ।’
भारतीय सीमावर्ती वस्ती उजलीकोटमा वर्षौ अघि विद्युत बलेको थियो । नेपालतिर विद्युत जडान हुँदा तीन वस्ती वर्षौदेखि अन्धकार थियो ।
स्थानीय तह निर्वाचनमा मेयर विष्टले तीन वस्तीमा विद्युत सेवा पुगाउने वाचा गरेका थिए । चुनावमा गरिएको वाचा अनुसार यस वर्ष ती वस्तीमा विद्युत पुगेको हो ।
भीमदत्त नगरपालिकाको उज्यालो भीमदत्त अन्र्तगत मेयर विष्टले सुरुदेखि तीन वस्तीमा विद्युत लाइन विस्तारका लागि पहल गर्नु भएको थियो । त्यसका लागि नगर प्रमुख विष्टले विद्युत प्राविधकरणको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र महेन्द्रनगर वितरण केन्द्रसंग पहल गर्नु भएको थियो ।
‘भीमदत्तको उज्यालो भीमदत्त कार्यक्रम छ, त्यसैगरी प्राधिकरणको उज्यालो नेपाल छ, यी दुबै उद्देश्य भनेको उज्यालो बनाउने भन्ने हो’ नगर प्रमुख विष्टले भन्नु भयो, ,‘त्यस अनुसार अघि बढेर सहकार्य र समन्वय गरी विद्युत सेवा विस्तार गरिएको छ ।’
विद्युत प्राधिकरणले तिहार अघिदेखि नै विद्युत लाइन विस्तारको काम अघि बढाएको थियो । त्यस अनुसार खल्ला, टुँडिखेल र मुसेट्टीमा ट्रान्सफरमर जडान गरी सेवा सुरु गरिएको छ ।
नेपाल विद्युत प्राधिकरणको गड्डाचौकी फ्यूज शाखाका फोरमेन राज कुमार चौधरीले बत्तीका लागि स्थानीयका घरमा मिटर जडान गर्न लागिएको बताउनु भयो ।
‘विद्युत जडानका आवेदन मागेका छौ, त्यस अनुसार हालसम्म ३५ परिवारको घरमा जडान भई सकेको छ’ चौधरीले भन्नु भयो, ‘अरु घरमा पनि मिटर जडान गरी बत्ती बाल्न सुरु गर्छौ ।’
पूरानो ब्रह्मदेब मण्डीका तीन वस्तीमा चार सय हाराहारीमा स्थानीयको बसोबास छ । दुई दशकदेखि बस्दै आएका उनीहरु विद्युत लाइन विस्तार नहुँदा अँध्यारोमा बस्न बाध्य थिए ।
स्थानीय मान सिह साउँदले खल्ला मुसेट्टीमा पहिलो पटक बत्ती बलेर उज्यालो भएको बताए । ‘पहिला त केही थिइन, अहिले त बत्ती पनि बलेको छ,’ ८२ वर्षिय साउँदले भन्नु भयो, ‘पहिला भन्दा त राम्रो नै भयो ।’
स्थानीय तह निर्वाचनपछि मेयर विष्टले नगरपालिकाको नीति कार्यक्रममा खल्ला मुसेट्टीमा प्राथमिकता दिनु भएको थियो । नगर प्रमुख विष्टले बाटो निर्माण गरी वस्तीमा पहिलो पटक गाडी पुगाउनु भएको छ ।
टेलिफोन सुविधाका लागि टुँडिखेलमा टावर निर्माण गरिएको छ । विद्युत सेवा सञ्चालनसंगै केही दिनपछि टावर सञ्चालनमा आउनेछ ।
कार्यक्रममा भीमदत्त नगरपालिका १५ का अध्यक्ष भीम बहादुर साहुले खल्ला मुसेट्टीको विकासमा नगर कार्यपालिकाबाट पूर्ण रुपमा सहयोग हुने बताउनु भयो ।
‘नगर कार्यपालिका बैठकमा मेयर साप जहिले पनि खल्ला मुसेट्टी भन्नु हुन्थ्यो, हामीहरु वहाँ किन यहीं क्षेत्र मात्र भन्नु भनेर आश्चर्यमा पथ्र्यौ’ अध्यक्ष साहुले भन्नु भयो, ‘यो वस्ती पछाडि रहेछ, वहाँलाई त्यहीं चिन्ता छ, अब कार्यपालिकामा यो क्षेत्रका लागि आउने हरेक एजेण्डामा हाम्रो पूर्ण समर्थन हुन्छ ।’
भीमदत्त नगरपालिकाले सुविधा नपुगेका वस्तीलाई प्राथमिकता दिएर अघि बढेकोले तीन वर्षमा खल्ला मुसेट्टीमा अभूतपूर्वक परिवर्तन आएको अध्यक्ष शाहुले बताउनु भयो ।
भीमदत्त नगरपालिका ९ का अध्यक्ष राम नाथले दुर्गम र विकट क्षेत्र भनेर चिनिने खल्ला, मुसेट्टीको पहिचान फेरिएको बताउनु भयो ।
‘अब यो वस्ती पहिला जस्तो विक रहेन’ अध्यक्ष नाथले भन्नु भयो, ‘विकटता हटेको छ, अब यो ठाउँ विकट हुँदैन ।’
स्थानीय तह निर्वाचन अघि वासिन्दालाई प्रलोभनमा पारी भोट माग्ने बाहेकका अरु केही काम नभएको उल्लेख गर्दै अध्यक्ष नाथले मेयर विष्टले चुनावी वाचा अनुसार दुर्गम वस्तीका लागि कार्यक्रम अघि सारेको बताउनु भयो ।