• Thu. Apr 24th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तका मेयरले ल्याए लोकप्रिय कार्यक्रम

Byभीमदत्त अनलाइन

१ आश्विन २०७६, बुधबार १४:५९ १ आश्विन २०७६, बुधबार १४:५९ १ आश्विन २०७६, बुधबार १४:५९

महेन्द्रनगर, १ असोज
भीमदत्त नगरपालिकाले चालु वर्षमा एक सय युवालाई स्वरोजगार बनाउने भएको छ । युवाहरुको हात भीमदत्तको साथ भन्ने नारा सहित चालु आर्थिक वर्षदेखि भीमदत्त रोजगार कार्यक्रम सञ्चालन गर्न लागिएको हो । यो कार्यक्रम अन्र्तगत भीमदत्त नगरपालिकाका एक सय युवालाई स्वरोजगार बनाउने लक्ष्य राखिएको छ ।

भीमदत्तको पाँचौ नगर सभाबाट पारित आर्थिक वर्ष २०७६÷०७७ को वार्षिक नीति तथा कार्यक्रममा भीमदत्त रोजगार कार्यक्रम समावेश गरिएको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले युवालाई स्वरोजगार बनाउन भीमदत्त रोजागर कार्यक्रम सञ्चालन गर्न लागिएको बताउनु भयो ।

‘भीमदत्तलाई समृद्ध नगर बनाउने लक्ष्य राखिएको छ, त्यसका लागि नीति, कार्यक्रम र बजेटमा समृद्धिका आधार बलियो हुने गरी कार्यक्रम ल्याएका छौ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘यस वर्ष कम्तिमा भीमदत्त रोजागर कार्यक्रमबाट एक सय युवालाई स्वरोजगार बनाउने लक्ष्य राखेका छौ, यसबाट समृद्ध नगर बनाउने लक्ष्यलाई सहयोग पुग्ने अपेक्षा राखिएको छ ।’

नगर प्रमुख विष्टले समृद्ध नगरका लागि आर्थिक विकासलाई प्राथमिकता दिदैं आउनु भएको छ । युवालाई आर्थिक क्षेत्रमा परिचालन गरी युवालाई स्वरोजगार बनाउन विशेष प्राथमिकताका साथ भीमदत्त स्वरोजगार कार्यक्रम नगर सभाबाट पारित गराउनु भएको हो ।

स्थानीय तह निर्वाचनमा नगर प्रमुख विष्टले युवा बेरोजगारी समस्या समाधानका लागि स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता गर्नु भएको थियो । चुनावी प्रतिवद्धता अनुसार युवाका लागि स्वरोजगार बनाउने कार्यक्रम अघि सारिएको छ । ‘स्थानीय तह निर्वाचनमा विकास निर्माण, महिला, आदिवासी, दलित, पिछडिएको क्षेत्र, अपाङ्गता भएका व्यक्ति, बेरोजगारी समस्या समाधान गर्ने लगायतका वाचा गरेका थियौ, नगरपालिकाको नीति, कार्यक्रम र बजेटमा ती विषयलाई प्राथमिकता दिइएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘ त्यसै अनुसार युवा स्वरोजगार बनाउने कार्यक्रम आएको छ ।’

नगर प्रमुख विष्टले कार्यक्रमलाई निरन्तरता दिने गरी यस वर्षदेखि सञ्चालन गर्न लागिएको बताउनु भयो । ‘यस वर्ष यो कार्यक्रम सुरु हुन्छ, यसलाई निरन्तरता दिन्छौ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘युवाको प्रत्यक्ष सहभागिता र नेतृत्वमा यो कार्यक्रम हुन्छ ।’ भीमदत्तमा गत वर्षदेखि प्रधानमन्त्री रोजागर कार्यक्रम समेत सञ्चालन गरिएको छ ।

नगरपालिकाले यस वर्षदेखि सुरु गर्न लागेको यो नयाँ कार्यक्रम हो । यस वर्ष यो कार्यक्रम सहित एक सामुदायिक वन एक पोखरी निर्माण, बाहिरी र भित्री चक्रपथ निर्माण, एक वडा एक चिल्ड्रेन पार्क निर्माण लगायतका नयाँ कार्यक्रम समावेश गरिएका छन् । चालु वर्षका लागि नगर सभाबाट एक अर्ब २२ करोड बजेट विनियोजन गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *