महेन्द्रनगर । भीमदत्त नगरपालिकाले प्राविधिक शिक्षालय सञ्चालन गर्ने भएको छ । महाकाली उप प्रादेशिक अस्पतालसितको साझेदारीमा नगरपालिकाले महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालन गर्न लागेको हो ।
प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् ( सिटिईभिटीई ) ले भीमदत्त नगरपालिकालाई डिप्लोमा तहका प्राविधिक शिक्षाका कार्यक्रम सञ्चालनका लागि स्वीकृति दिएको छ ।
शिक्षा विज्ञान तथा प्राविधि मन्त्रालयको सिफारिशमा भीमदत्त नगरपालिकालाई प्राविधिक विषयका कार्यक्रम सञ्चालनका लागि स्वीकृति दिइएको हो । भीमदत्त नगरपालिका र महाकाली उप प्रादेशिक अस्पतालले प्राविधिक शिक्षालय सञ्चालनका लागि मन्त्रालयमा प्रस्ताव पेश गरेका थिए ।
शिक्षा विज्ञान तथा प्राविधि मन्त्री गिरिराजमणी पोखरेलका सल्लाहकार जीवन गौतमले शनिबार भीमदत्त नगरपालिकालाई प्राविधिक शिक्षा सञ्चालन स्वीकृति पत्र हस्तान्तरण गर्नु भएको छ ।
सुदूरपश्चिम प्रदेश सभाका सदस्य सहित जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी सहित विभिन्न क्षेत्रका अगुवाको उपस्थितिमा आयोजित कार्यक्रममा स्वीकृति पत्र हस्तान्तरण गरिएको छ ।
नगर प्रमुख विष्टले आर्थिक रुपमा प्राविधिक शिक्षा आर्जन समस्या हुने समुदायलाई लक्षित गरी नगरपालिकाले महाकाली उप प्रादेशिक अस्पतालसित साझेदारीमा प्राविधिक सञ्चालन गर्न लागेको बताउनु भयो ।
‘प्राविधिक शिक्षा आज सबैको आवश्यकता हो, शासन व्यवस्था फेरिएसंगै शिक्षा पनि समय अनुसार फेरिनु पर्छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘प्राविधिक शिक्षालाई विकास र विस्तार गर्न शिक्षालय सञ्चालन गर्ने प्रयत्न अघि बढाएका छौ, त्यसका लागि सबैको सहयोगमा यसलाई अघि बढाएका छौ ।’
सिटीइभीटीको मापदण्ड अनुसार प्राविधिक शिक्षालय सञ्चालन प्रक्रिया अघि बढाइने मेयर विष्टले बताउनु भयो । ‘अब यसमा फोकस हुने गरी काम अघि बढाउँछौ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘अस्पताल सहित अरु सबै सरोकारवालासित समन्वय र सहकार्य अघि बढ्छौ ।’
मन्त्रालयको सिफारिशमा यस वर्ष सुदूरपश्चिममा भीमदत्त नगरपालिका र डडेल्धुराको अमरगढी नगरपालिकालाई प्राविधिक शिक्षालय सञ्चालनको अनुमति दिएको हो ।
भीमदत्तले सञ्चालन गर्ने महाकाली प्राविधिक शिक्षालयमा नर्सिङ्ग सहितका सात कार्यक्रम सञ्चालन गरिने भएका छन् । त्यसमा समान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डेन्टल साइन्स, रेडियो डाइग्नोष्टिक, अप्थाल्मिक साइन्स र फार्सेसीका कार्यक्रम सञ्चालन गर्ने स्वीकृति दिइएको छ ।
भीमदत्त नगरपालिकाको पूर्ण लगानीमा सञ्चालन हुने प्राविधिक शिक्षालय सञ्चालनका लागि गत कार्तिक २६ गते स्वीकृति दिने निर्णय गरिएको थियो ।
स्वीकृति पत्र हस्तान्तरण कार्यक्रममा मन्त्री पोखरेलका सल्लाहकार गौतमले प्राविधिक शिक्षा सञ्चालनबाट सुदूरपश्चिम प्रदेशमा प्राविधिक जनशक्तिको खाँचो हल हुने विश्वास व्यक्त गर्नु भयो ।
‘प्राविधिक जनशक्ति उत्पादन सरकारको प्राथमिकतामा छ, भीमदत्त नगरपालिकामा सञ्चालन हुने प्राविधिक शिक्षाबाट जनशक्ति उत्पादन भएर खाँचो पूर्ति हुन्छ’ सल्लाहकार गौतमले भन्नु भयो ।
सल्लाहकार गौतमले सरकारले प्राविधिक शिक्षा विस्तार गर्ने क्रममा विद्यालय शिक्षामा प्राविधिक शिक्षालाई प्राथमिकता दिएर अघि बढेको बताउनु भयो ।
सुदूरपश्चिमका ८८ स्थानीय तहमध्ये भीमदत्त र अमरगढी नगरपालिकाले यस वर्ष प्राविधिक शिक्षालय सञ्चालन गर्न लागेका हुन् । भीमदत्त नगरपालिकाका प्रवक्ता हिमाल बहादुर चन्दले आगामी आर्थिक वर्षदेखि सञ्चालनमा ल्याउने गरी तयारी अघि बढाइने बताउनु भयो ।
‘भौतिक समाग्रंी तथा मेशिन औजार र प्रशिक्षकको व्यवस्थापन पूर्वाधार निर्देशिका, पाठ्यक्रम बजोमि गुणस्तरिय प्रशिक्षकका लागि नगरपालिका व्यवस्था गरी अघि बढ्छ’ प्रवक्ता चन्दले भन्नु भयो, ‘अस्पतालसित सहकार्य गरी अर्को वर्षदेखि कक्षा सञ्चालन गर्छौ ।’
सुदूरपश्चिम प्रदेश सभा सदस्य लाल बहादुर खडकाले भीमदत्त नगरपालिकाले प्राविधिक शिक्षालयलाई नमूना शिक्षालयका रुपमा सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।
‘स्थानीय तहसंगको साझेदारीमा प्राविधिक शिक्षालय सञ्चालन कार्यक्रम एकदैम राम्रो हो’ सभासद् खड्काले भन्नु भयो, ‘यो कार्यक्रम नमूनाका रुपमा अघि बढ्नु पर्छ, किनकी पहिलो पटक हो, राम्रो भए राम्रो र नराम्रो सन्देश जान्छ, त्यसैले नमूना हुने गरी सञ्चालन गरिनु पर्छ ।’
सुदूरपश्चिम प्रदेश सरकारले पनि प्राविधिक शिक्षालयलाई प्राथमिकता दिएको उल्लेख गर्दै प्रदेश सरकार शिक्षालय सञ्चालनका लागि सहयोग गर्ने बताउनु भयो ।
संविधान सभा सदस्य टेकेन्द्र प्रसाद भट्टले भीमदत्त नगरपालिकाले रणनीतिक र दिर्घकालिन महत्वका योजना अघि सारेको उल्लेख गर्दै प्राविधिक शिक्षालय पनि त्यसैको निरन्तरताको रुपमा आएको बताउनु भयो ।
‘यो भीमदत्तको नयाँ प्रयास हो, यस अघि पनि भीमदत्तले रणनीतिक महत्वका योजना अघि बढाएको छ’ भट्टले भन्नु भयो, ‘अरु तहले पनि कार्यक्रम त गरेको छन्, तर भीमदत्तको दिर्घकालिन र रणनीतिक महत्वका योजनामा यो एउटा थप कार्यक्रम कार्यक्रम हो ।’
संविधान सभा सदस्य भट्टले नगरपालिकाले छिटो भन्दा छिटो शिक्षालय सञ्चालन गर्नु पर्नेमा जोड दिनु भयो ।
महाकाली अस्पतालका अध्यक्ष कृष्णदत्त जोशी बोक्सरले कमजोर आर्थिक अवस्था भएका समुदायले शिक्षालयबाट लाभ लिन सक्ने बताउनु भयो । ‘आर्थिक लगायतका विभिन्न कारणले पढ्न नपाउने अवस्था यसबाट अन्त्य हुन्छ’ अध्यक्ष जोशीले भन्नु भयो ।
अध्यक्ष जोशीले शिक्षालय सञ्चालन प्रक्रियालाई अवरोध पुगाउने कार्य समेत हुन थालेको बताउनु भयो । भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रसाद भट्टले शिक्षालय सञ्चालन नगरपालिकाका लागि ऐतिहासिक कार्यक्रम भएको बताउनु भयो । महाकाली बहुप्राविधिक शिक्षालय सञ्चालनका लागि स्वीकृति पाएका सबै कार्यक्रममा ४०÷४० जनाका कोटा छन् ।
चिकित्सा शिक्षा आयोगबाट अन्तिम पत्र आएपछि कार्यक्रम सञ्चालनका सबै प्रक्रिया पूरा हुने भएका छन् । त्यसका लागि मन्त्रालयलले आयोगलाई पत्र पठाइ सकेको छ ।
कार्यक्रममा मन्त्रालयका अधिकारी सहित भीमदत्त नगरपालिकाका पूर्व नगर उप प्रमुख ईश्वरी प्रसाद खरेल सहित विभिन्न राजनीतिक दलका नेता, विद्यार्थी संगठनका नेता, नगरपालिकाका कर्मचारी लगायतका सहभागी भएका छन् ।