महेन्द्रनगर, २३ भदौ
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगर क्षेत्रभित्रका शैक्षिक कार्यका लागि नगरपालिकासित समन्वय र सहकार्य गरी जानु पर्नेमा जोड दिनु भएको छ ।
५३ औं अन्तर्र्राष्ट्रिय साक्षरता दिवस तथा ४० औं शिक्षा दिवसको अवसरमा आयोजना गरिएको कार्यक्रममा नगर प्रमुख विष्टले शिक्षा समितले नगरपालिकासित समन्वय र सहकार्य नगरी शिक्षक दरबन्दी कटौती गरिएको जानकारी बाहिर आएकोमा असन्तुष्टि जनाउनु भयो ।
‘समग्रमा शैक्षिक क्षेत्र कस्तो हुने भन्नेमा अन्यौल छ, त्यसैले अहिले सहकार्य र समन्वय गरी जानु पर्ने आवश्यकता छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘जिल्ला शिक्षा समितिले नगरका शिक्षक दरबन्दी कटौतीको कुरा बाहिर आएको छ, भीनपा त्यसमा सहमत हुन सक्दैन ।’
भीमदत्त नगरपालिकाको पाँचौ नगर सभाबाट नगर क्षेत्रका शैक्षिक समस्या समाधान गरी सामुदायिक शिक्षा सुधारका लागि उच्च स्तरीय आयोग बनाउने निर्णय गरिएको उल्लेख गदैै नगर प्रमुख विष्टले आयोगका सुझावका आधारमा शैक्षिक क्षेत्रका नीति तथा कार्यक्रम बनाइने बताउनु भयो ।
सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार र पूर्वाधार निर्माणका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्यक्रम सञ्चालन गरिएको उल्लेख गर्दै नगर प्रमुख विष्टले भन्नु भयो, ‘पूर्वाधार निर्माण, शिक्षक दरबन्दी मिलान, प्रविधि विकास, विद्यार्थी संख्या लगायतका विषय प्राथमिकता दिएर नीति, कार्यक्रम र योजना बनाएका छौ ।’
नगर प्रमुख विष्टले नगर विकासको २५ वर्षे गुरु योजना निर्माण कार्य सुरु गरिएको बताउनु भयो । ‘भीमदत्त नगरपालिकालाई कस्तो नगर बनाउने, त्यसको ढाँचा कस्तो हुने, योजना कस्ता हुने लगायतका विषय समेटेर समृद्धि नगर बनाउन २५ वर्षे गुरु योजना बनाउन सुरु गरिएको छ, त्यसका लागि कार्य अघि बढेको छ ।’
कार्यक्रममा सहभमागी सबै शिक्षकहरुलाई नगर प्रमुख विष्टले विद्यालयको वार्षिकोत्सवमा हिन्दी गीतहरु नबनाउन आग्रह गर्नु भएको छ । ‘अब बार्षित्कोसत्वमा हिन्दी गीत नबजाउन म सबै गुरु वर्गमा सादर आग्रह गर्छु’ नगर प्रमुख विष्टले भन्नु भयो,‘ हाम्रो परम्परा, संस्कृति, रहनसहन, विविधता समेटिएका गीत बजाउन आग्रह गर्छु ।’