• Thu. Apr 17th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तका मेलमिलापकर्तालाई तालिम

Byभीमदत्त अनलाइन

२ माघ २०७६, बिहीबार २०:०२ २ माघ २०७६, बिहीबार २०:०२ २ माघ २०७६, बिहीबार २०:०२

महेन्द्रनगर, २ माघ
भीमदत्त नगरपालिकामा मेलमिलापकर्ताहरुका लागि सञ्चालन गरिएको मेलमिलाप सम्बन्धि आधारभूत तालिम सकिएको छ । भीनपा न्यायिक समितिले आयोजना गरेको तालिममा नगरपालिकाका ९ वडाका मेलमिलापकर्ता सहभागी भएका छन् ।

भीमदत्त नगरपालिकाकान नगर प्रमुख सुरेन्द्र विष्टको प्रमुख आतिथ्यमा बुधबार कार्यक्रम गरी तालिम समापन गरिएको छ । समापन कार्यक्रममा नगर प्रमुख विष्टले स्थानीय सरकारलाई दिइएको अधिकार क्षेत्रभित्र रहेर न्यायिक समिति गठन गरी वडा स्तरमा विवाद समाधानका लागि मेलमिलापकर्ता परिचालन गर्न लागिएको बताउनु भयो ।

‘स्थानीय सरकारको अधिकार क्षेत्रभित्र रहेर न्यायिक समिति गठन गरिएको छ, त्यस अन्र्तगत वडामा विवाद मिलाउन मेलमिलापकर्तालाई तालिम दिइएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो,‘यसबाट अब वडाका विवाद वडामा समाधान हुने छन् ।’

स्थानीय तह निर्वाचनपछि स्थानीय सरकार सञ्चालन ऐन ढिलो आएका कारण न्याियक समिति गठनमा ढिलाई भएको नगर प्रमुख विष्टको भनाई थियो । नगर प्रमुख विष्टले नगरको समृद्धि र विकास जनप्रतिनिधि र कर्मचारीबाट मात्रै सम्भव नहुने भएकाले सबै क्षेत्रसित सहकार्य र साझेदारी गरिएको बताउनु भयो ।

समापन कार्यक्रमका अध्यक्ष न्यायिक समितिका संयोजक नगर उप प्रमुख सुशिला चन्द सिहले तालिमले मेलमिलापकर्ताहरुको जिम्मेवारी थपिएको बताउनु भयो । ‘यो तालिम विवाद मिलाउन महत्वपूर्ण हुन्छ, यसबाट जिम्मेवारी थपिएको छ’ नगर उप प्रमुख चन्दले भन्नु भयो,‘गाउँ घरका विवादमा अब कार्यालयसम्म आउने छैन ।’

भीमदत्त नगरपालिकाले यस अघि १० वडाका मेलमिलाकर्ताहरुका लागि पहिलो चरणमा तालिम सञ्चालन गरेको थियो । सबै वडाका मेलमिलापकर्ताहरुलाई विवाद समाधानका लागि वडामा परिचालन गरिने छ ।
नगर उप प्रमुख चन्दले नगरपालिकामा विवाद समाधानका लागि ७ ओटा मेलमिलाप केन्द्र स्थापना गरिने बताउनु भयो ।


समापन कार्यक्रममा नगर प्रमुख विष्ट, नगर उप प्रमुख चन्द र कार्यपालिका सदस्य कमला देवकोटाले सहभागीहरुलाई प्रमाण पत्र वितरण गर्नु भयो । समापन अघि जिल्ला अदालत कञ्चनपुरका न्यायाधिश शिवलाल पाण्डेयले सहभागीहरुलाई शपथ खुवाउनु भयो ।

न्यायिक समितिका नायब सुब्बा मनोज प्रसाद भट्टले सञ्चालन गरेको कार्यक्रममा न्यायिक समितिका कानुनी सल्लाहकार विरेन्द्र सिह लगायत पत्रकारहरु सहभागी भएका छन् । ८ दिनसम्म चलेको तालिममा चुप बहादुर थापाले सहजीकरण गर्नु भएको थियो ।

प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको संयोजनमा सञ्चालन गरिएको तालिममा मेलमिलाप सम्बन्धि कानुनी व्यवस्था, मेलमिलाप प्रक्रिया चरण, त्यसका सीप र औजार, विवाद समाधानमा ध्यान दिनु पर्ने कुराहरु लगायतका विषयमा प्रशिक्षण दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *