महेन्द्रनगर, ३ असार
भीमदत्त नगरपालिकामा बिहीबार आगामी आगामी वर्षको नीति, कार्यक्रम तथा बजेट ल्याउने तयारी गरिएको छ । स्थानीय सरकारले असार १० गतेसम्म नीति, कार्यक्रम तथा बजेट ल्याउनु पर्ने कानुनी प्रावधान अनुसार भीमदत्तले असार ४ गते नगर सभा गरी बजेट ल्याउन लागेको हो ।
स्थानीय तह निर्वाचनपछि भीमदत्तको यो सातौ नगर सभा हो । यो नगर सभाबाट आगामी आ.व. २०७७÷०७८ को नीति, कार्यक्रम तथा बजेट पारित गरिनेछ । यस तीन नगर सभाबाट बजेट सहितको नीति कार्यक्रम पारित गरिएको थियो ।
कोरोना भाइरस (कोभिड १९) संक्रमण महामारीलाई सम्बोधन हुने गरी नीति तथा कार्यक्रम तयार गरिएको छ । भीमदत्त नगरपालिका गत माघदेखि कोरोना महामारी रोकथाम र नियन्त्रणका लागि संघर्षरत छ ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले कोरोना महामारीका कारण उत्पन्न संकटलाई मध्यनजर गरी नीति, कार्यक्रम र बजेट तयार गरिएको बताउनु भयो ।
‘यो वर्ष कोरोना महामारीका बिच सकिएको छ, कोरोना महामारीका असर दिर्घकालिन छन्, शिक्षा, स्वास्थ्य, कृषि लगायतलाई प्राथमिकता दिइएको छ’ नगर प्रमुख विष्टले भन्नु भयो, ‘समग्रमा कोरोना महामारी नियन्त्रण, रोकथामलाई नीति, कार्यक्रम र बजेटमा प्राथमिकता दिइएको छ ।’
नगर प्रमुख विष्टले कोरोना महामारीका कारण उत्पन्न संकट हटाउनका लागि उत्पादनलाई बजेटमा प्राथमिकता दिइएको बताउनु भयो । नीति तथा कार्यक्रममा केही नयाँ कार्यक्रम समेट समावेश गरिएका छन् । एक सहकारी एक उत्पादनको कार्यक्रमलाई नीति तथा कार्यक्रममा प्राथमिकताका साथ समावेश गरिएको छ ।
भीमदत्तका नगर प्रमुख विष्टले नीति, कार्यक्रम र बजेट सम्बन्धि राजनीतिक दल, पूर्व जनप्रतिनिधि, सरकारी कार्यालयका प्रमुख लगायतका विभिन्न क्षेत्रका सरोकारवालासित छलफल गरी सुझाव लिएका छन् । सबै क्षेत्रका सुझावका आधारमा नीति तथा कार्यक्रमलाई अन्तिम रुप दिइएको छ ।
भीमदत्तको आगामी वर्षको बजेटको आकार पनि बढ्ने भएको छ । चालु आर्थिक वर्षका लागि गत वर्ष पाँचौ नगर सभाबाट एक अर्ब ३० करोड बजेट विनियोजन गरिएको थियो ।
स्थानीय तह निर्वाचनपछि नगर प्रमुख विष्टले पहिलो वर्षमै बजेटको आकार वृद्धि गरेका थिए । झण्डै पाँच करोडको बजेटलाई पहिलो वर्षमा १३ करोड पुगाइएको थियो । त्यसपछि दुई वर्षमा निरन्तर बजेटको आकार बढेको छ ।
बिहीबार विहान सुरु हुने नगर नगर सभामा संघीय र प्रदेश सरकारका साँसदहरुले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसपछि नगर सभाका अन्य कामकाज सुरु गरिने नगर प्रवक्ता हिमाल चन्दले जानकारी दिनु भएको छ ।