महेन्द्रनगर, २८ भदौ
भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले नगरको विकास र समृद्धिका लागि सबैसित सहकार्य र साझेदारीलाई प्राथमिकता दिएको बताउनु भएको छ । श्रीकृष्ण सेवा ग्राम सेवा समितिको नवौ अधिवेशन तथा २० औं साधारण सभा उदघाटन समारोहमा नगर प्रमुख विष्टले सहकार्य र समझदारी भीमदत्त नगरपालिकाको मूल्य र मान्यता भएको बताउनु भयो ।
‘नगरपालिकाले एक्लैले सबै काम गर्न सक्दैन, जनप्रतिनिधि र कर्मचारीले पनि सक्दैन्’ उद्घाटन समारोहका प्रमुख अतिथि नगर प्रमुख विष्टले भन्नु भयो,‘त्यसका लागि सहकार्य र समझदारीलाई प्राथमिकता दिएर अघि बढेका छौ ।’
‘यो समितिसित पनि सहकार्य र समझदारी गरी के गर्न सकिन्छ, त्यसका लागि ठोस कार्यक्रम सहित बनाएर छलफल गरौ’ नगर प्रमुख विष्टले भन्नु भयो ।
नगर प्रमुख विष्टले नगर वासिन्दालाई सहज रुपमा सेवा प्रदान र विकास निर्माणलाई दु्रत रुपमा अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतसित कार्य सम्पादन सम्झौता गरिएको बताउनु भयो । कृषिलाई आधुनिकीकरण र व्यवसायीकरणका लागि नगरपालिकाले कार्यक्रम सञ्चालन गरेको उल्लेख गर्दै नगर प्रमुख विष्टले कृषि क्षेत्रको विकासका लागि संघ र प्रदेश सरकारसित समन्वय गरिने बताउनु भयो ।नगरपालिका क्षेत्रमा डिम लाइटको समस्या समाधानका लागि विद्युत प्राधिकरणसंग छलफल गरिएको नगर प्रमुख विष्टले बताउनु भयो ।
एक वडा एक खेलकूद मैदानको अवधारणा अघि सारी खेलकूदको विकास गर्न खोजिएको उल्लेख गर्दैै नगर प्रमुख विष्टले वडा स्तरमा खेलकूद प्रतियोगिता गरिएको बताउनु भयो । सीप विकासका लागि विभिन्न तालिमहरु सञ्चालन गरिएकाले समितिलाई तालिम सञ्चालनमा सहयोग गर्न सकिने नगर प्रमुख विष्टले बताउनु भयो ।
समितिका निवर्तमान अध्यक्ष शिवराज पाठकको सभापतित्वमा गरिएको वडा नं. १७ का अध्यक्ष हिमाल बहादुर चन्द, १२ का अध्यक्ष कृष्ण सिह देउपा, समाजसेवी राम बहादुर बुढा लगायतले शुभ कामना मन्तव्य राख्नु भयो । कार्यक्रममा केशवदत्त भट्ट, मान बहादुर बुढा र खिमानन्द पाठकलाई सम्मान गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख विष्टले दोसल्ला ओढाएर प्रशंसा पत्र प्रदान गरी सम्मान गर्नु भयो । टेकेन्द्र प्रसाद पाठकले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन नैन सिह पालले गर्नू भएको थियो ।