महेन्द्रनगर ५ साउन । कञ्चनपुरको भीमदत्त नगरपालिकाले नगरको शिक्षा सुधार योजनालाई अगाडी बढाएको छ ।
उच्चस्तरीय शिक्षा सुधार समितिले दिएको प्रतिवेदन अनुसार नगरपालिकाले शिक्षा क्षेत्रको सुधारका कार्यक्रमलाई अघि बढाएको हो ।
लामो समयदेखि सामुदायिक विद्यालयमा प्रमुख समस्याको रुपमा रहेको शिक्षक दरबन्दी मिलानलाई नगरपालिकाले समाधान गरेका छ । करिब आठ वर्षदेखि शिक्षक दरबन्दी मिलन ठुलो समस्याको रुपमा रहदैँ आएको थियो । भीमदत्त नगरपालिकाको शिक्षा शाखाले तीन वटै तहमा ४ सय ७७ शिक्षक दरबन्दी मिलान गरेका जनाएको छ ।
नगरपालिकाका शिक्षा शाखा प्रमुख हरिदत्त जोशीका अनुसार प्राथमिक तहमा २ सय ७५, निम्न माध्यमिक तहमा १ सय ७ र माध्यमिक तहमा ९५ वटा दरबन्दी मिलान गरेको हो । त्यसै ८ वटा विद्यालयले तहगत स्वीकृती पाएका छन् ।
नगरपालिकाले उच्चस्तरिय शिक्षा सुधार कार्यदलको प्रतिवेदन, शिक्षा विभागको परिपत्र, दरबन्दी मिलान संवाद समितिले दिएको प्रतिवेदनका आधारमा दरबन्दी मिलान गरिएको उनले बताए । भीमदत्त नगरपालिकाले नगरको शिक्षा सुधारका लागि पुर्व जिल्ला अधिकारी देविदत्त भट्टको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदल शिक्षक दरबन्दी मिलान, विद्यालयमा दरबन्दी स्वीकृत लगायतका विषयका तत्काल समाधान गर्न नगरपालिकालाई सुझाव दिएको थियो । अनुमती पाएर पनि स्वीकृत नभएको विद्यालयमा यस पटक दरबन्दी स्वीकृत भएको छ । दरबन्दी मिलान भएपछि नगरका सबै सामुदायिक विद्यालयमा शिक्षक पुगेका छन् ।
कार्यदलले सामुदायिक विद्यालयको गुणस्तर सुधारका लागि पुर्वाधार निर्माण, शिक्षकको दरबन्दी व्यवस्थापन लगायतका अल्पकालिन तथा दिर्घकालिन समस्या समाधानका आवश्यक सुधार दिएको छ ।
कार्यदले बालविकास केन्द्र, आधारभूत तथा माध्यमिक विद्यालयको भौतिक तथा शैक्षणिक व्यवस्थापकीय पक्षको सुधार, सिकाइ क्रियाकलापमा विद्यार्थीको सहभागितामा जोड र विद्यालयको योजना तथा स्रोत व्यवस्थापन लगायका विषयलाई सम्बोधन गर्न सुझाएको छ ।