महेन्द्रनगर, २३ साउन
स्थानीय तह निर्वाचनपछि भीमदत्त नगरपालिका वडा नं. १८ मा पूर्वाधार निर्माण कार्यले तीव्रता पाएको छ । सडक कालोपत्रे, नयाँ बाटो खोल्ने कार्य, ढल निर्माण लगायतका पूर्वाधार निर्माणका कार्य गरिएका छ ।
स्थानीय तह निर्वाचनपछिको दुई वर्षमा ८ किलोमिटर नयाँ बाटो खोलिएको छ । अढाई किलोमिटर सडक कालोपत्रे गरिएको छ भने तीन किलोमिटर ढल सहितको सडक निर्माण कार्य चलि रहेको छ ।
जानकीटोल, बागबानी, सालघारी लगायतका क्षेत्रमा भई सघन सहरी विकास कार्यक्रम अन्र्तगत ढल सहितका पक्की सडक निर्माण भई रहेको छ । वडा नं. १८ का गोबरैया, निम्बुखेडा, जनज्योति र खैरभट्टीमा नयाँ बाटो खोलिएका छन् ।
भीमदत्त नगरपालिकाको गौरबको योजना शुक्लाफाँटा पर्यटन मार्ग अन्र्तगत वडा नं. १८ मा क्षेत्रमा ट्रयाक खोलिएको छ ।
भीमदत्त नगरपालिका वडा नं. १८ का वडा अध्यक्ष राजेन्द्र पाण्डेयले वडा वासीको माग र आवश्यकताका आधारमा पूर्वाधार निर्माणका कार्य गरिएको बताउनु भयो ।
‘वडा वासीको चाहना बाटोघाटो निर्माण, पक्की सडक, ग्राभेल, पूर्वाधार निर्माणका सबैभन्दा बढी छन्, वस्ती स्तरबाट आउने योजना पनि पूर्वाधारसंग सम्बन्धित नै सबैभन्दा बढी छन्’ अध्यक्ष पाण्डेयले भन्नु भयो,‘वडाको बजेटले धान्ने गरी पूर्वाधारका योजनालाई प्राथमिकताका साथ अघि बढाएका छौ ।’
दुई वर्ष अघि स्थानीय तह निर्वाचनका क्रममा वडाबासीले पूर्वाधार निर्माणमा सबैभन्दा बढी चाहना राखेको वडा अध्यक्ष पाण्डेयले बताउनु भयो ।
वडाको बजेटले बनाउन नसकिने योजनाका लागि सुदूरपश्चिम प्रदेश सरकारसंग पहल गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयसित पहल गरी भाँसी खोलामा तटबन्ध निर्माण गरिएको छ ।
‘वडाको बजेटले धान्न नसक्ने ठाउँमा प्रदेश र संघीय सरकारसित पहल गरिएको छ, त्यहाँको बजेटले पूर्वाधार निर्माण गरेका छौ’ वडा अध्यक्ष पाण्डेयले भन्नु भयो ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य सदस्य मान बहादुर सुनारको कोषबाट आधा किलोमिटर सडक कालोपत्रे गरिएको छ ।
सडक बत्ती जडान, विद्युतीकरण, बोरिङ्ग जडान र खानेपानी योजना सञ्चालन लगायतका कार्यक्रम प्राथमिकता सहित सञ्चालन गरिएको वडा अध्यक्ष पाण्डेयले बताउनु भयो ।
दुई वर्षमा किसानहरुलाई सिँचाई सुविधाका लागि ११ बोरिङ्ग जडान गरिएका छन् । भगतपुरस्थित मदन भण्डारी स्मृति आधारभूत विद्यालयमा पर्खाल र गोबरैयास्थित निङ्गलाशैंनी माध्यमिक विद्यालयमा अुधरो भवन निर्माण कार्य पूरा गरिएको छ ।
वडा नं. १८ जनसंख्याका हिसाबमा भीमदत्त नगरपालिकाको सबैभन्दा ठूलो वडा हो । डुबानको समस्या सबैभन्दा बढी वडा नं. १८ मा भएकाले आगामी दिनमा ढल निकासलाई प्राथमिकता दिएर योजना सञ्चालन गरिने वडा अध्यक्ष पाण्डेयले बताउनु भयो । ‘यो वडा जनसंख्याको हिसाबले सबैभन्दा ठूलो छ, भूगोल पनि ठूलो छ, त्यसैले पूर्वाधारको माग पनि त्यहीं अनुसार आउँछ’ वडा अध्यक्ष पाण्डेयले भन्नु भयो,‘ डुबानको ठूलो समस्या छ, त्यसैले ढल निकासका लागि योजनालाई प्राथमिकता साथ सञ्चालन गर्छौ ।’ वडा अध्यक्ष पाण्डेयले पाँच वर्षमा जनताको चाहना अनुसार पूर्वाधार निर्माणका लगभग सबै कार्य सम्पन्न गर्ने लक्ष्य राखिएको बताउनु भयो ।