महेन्द्रनगर २० जेठ ।
कञ्चनपुरको भीमदत्त नगरपालिकाले यस हप्ता बजार अनुगमन कार्यलाई तिव्रताका साथ अगाडी बढाएको छ । नगरपालिकाले स्थानीय बजारसँगै नगरका सबै वडामा नियमित बजार अनुगमन गरिरहेको हो ।
बिहिबार पनि चौथो दिन नगरपालिकाले अनुगमनलाई निरन्तरता दिएको जनाएको छ । लकडाउन र महामारीलाई मध्यनजर गरि भीमदत्त नगरपालिकाले नियमित स्थानीय बजार अनुगमन भईरहेको अनुगमन टोली संयोजक तथा भीमदत्त नगरपालिकाका प्रशासकीय अधिकृत सुवास अधिकारीले बताउनु भयो । उहाँका अनुसार बिहिबार भीमदत्त नगरपालिका वडा नम्बर ७, ८ र १० मा रहेका मेडिकल तथा क्लिनिकहरुमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा दुई वडा मेडिकलबाट १० हजार बराबरको म्याद नाघेका औधषी समेत बरामद गरिएको उहाँले बताउनु भयो । वडा नम्बर ७ को हर्क सिंह महराको क्लिनिक र चन्द्रकान्त क्लिनिक/शर्मा मेडिकल स्टोरबाट ५/५ हजार मुल्य बराबरको म्याद नाघेका औधषी बरामद गरिएको भने भीनपा १० को सिर्जना हेल्थ क्लिनिक, ऐरी क्लिनिक र भीनपा ८ को राधिका हेल्थ क्लिनिकलाई कानुनसम्मत सञ्चालन गर्न निर्देशन दिईएको प्रशासकीय अधिकृत अधिकारीले भनाई छ ।
उहाँका अनुसार ती क्लिनिकलाई डिडिएको प्रमाण पत्र राख्न, नगरपालिकामा दर्ता तथा नविकरण गराउन, खरिद तथा बिक्रि बिल राख्न निर्देशन दिईएको छ । सोमबारबाट नगरपालिकाले खाद्यन्न तथा मेडिकल क्लीनिकबाट अनुगमन गदैँ आएको छ ।
नगरपालिकाको नेतृत्व गरेको अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय, वडा प्रहरी कार्यालय,उपभोक्ता हित संरक्षण मंच र पत्रकार महासंघ कञ्चनपुरका प्रतिनिधि लगायतको सहभागीता रहने गरेको छ ।
स्थानीय तहलाई प्राप्त अधिकार अन्र्तगत उपभोक्ता संरक्षण ऐन, २०७५ ले सुनिश्चित गरेको उपभोक्ताको संवैधानिक अधिकारको कार्यान्वयन गराउन स्थानीय बजार अनुगमन टोलीबाट निरीक्षण भईरहेको नगरपालिकाले जनाएको छ ।