• Fri. Nov 8th, 2024

भीमदत्त नगरपालिकामा खाद्य आपूर्ति अनुमगनका लागि समिति गठन

Byभीमदत्त अनलाइन

२० चैत्र २०७६, बिहीबार २०:०३ २० चैत्र २०७६, बिहीबार २०:०३ २० चैत्र २०७६, बिहीबार २०:०३

महेन्द्रनगर, २० चैत
भीमदत्त नगरपालिकाले नगर क्षेत्रमा खाद्य आपूर्तिको अनुमगन गर्न समिति गठन गरेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा बिहीबार नगरपालिका कार्यालयमा बसेको बैठकले अनुमगन समिति गठन गरेको छ ।

सरकारले कोराना भाइरस संक्रमण रोकथामका लागि लकडाउन घोषणा गरेपछि भीमदत्त नगरपालिकाले कञ्चनपुर उद्योग बाणिज्य संघसित समन्वय गरी नगर वासिन्दालाई खाद्य आपूर्तिको व्यवस्था गरिएको थियो । कञ्चनपुर उद्योग वाणिज्य संघ सहित विभिन्न क्षेत्रका प्रतिनिधि सहित बसेको बैठकले खाद्य आपूर्तिको अवस्था र हालसम्म प्रगति समीक्षा गरी आपूर्ति सहज बनाउन अनुगमन समिति गठन गरिएको हो ।

भीमदत्त नगरपालिकाका आधारभूत तथा माध्यमिक शिक्षा शाखाका शाखा अधिकृत हरिदत्त जोशीको संयोजकत्वमा गठित खाद्य आपुर्ति व्यवस्थापन अनुमगन तथा रेखदेख समितिमा प्रशान्त भट्ट, पिताम्बर जोशी, कृष्ण प्रसाद पाठक, माधव प्रसाद जोशी, वडा प्रहरी कार्यालय प्रमुख, प्रभुनिधि पन्त, लक्ष्मण तिवारी, विशाल सुनार, तर्कराज भट्ट र सदस्य सचिवमा प्रशासकीय अधिकृत सुवास अधिकारी सदस्य छन् ।

बैठकले खाद्यमा चामल, पिठा, दाल, तेल, ग्याँस, बेसार सहित मसलाजन्य वस्तु, र तरकारीमा आलु, गोवि, प्याज, लौका, फर्सि, बैगुन, टमाटर, लगायत तरकारी आपूर्ति व्यवस्थापन सहज बनाउने, प्रहरी सहितको वडा अध्यक्षको नेतृत्वमा वडामा समिति गठन गर्ने र मापदण्डका आधारमा आपूर्ति सहज बनाउने निर्णय गरेको छ ।

बैठकले एक मिटरको सामाजिक दुरी कायम राख्नु पर्ने, घुम्ती पसलमा विद्युतीय रिक्सा तथा ठूला सवारी साधन मात्रै प्रयोग गर्ने, घुम्ती पसल सञ्चालन कर्ताहरुले सुरक्षाका सामाग्री प्रयोग गर्ने, पसल सञ्चालनका अनुमति प्राप्त र ब्यानर लगाएको हुनु पर्ने, बजार वस्तुभाउ भन्दा अधिक मुल्यमा बिक्री गर्न नपाईने, मिसावट तथा अखाद्य वस्तु बिक्री गर्न नपाइने मापदण्ड बनाइएको छ ।

कञ्चनपुर मण्डी व्यवसायी संघले किसानहरुले उत्पादन गरेका तरकारी जन्यवस्तुहरु संकलन तथा वितरणको व्यवस्था गर्ने समेत निर्णय गरिएको छ । वडा स्तरीय समितिको मागका आधारमा वडासित समन्वय गरी खाद्य आपूर्ति गरिने भएको छ । यसैगरी अनुगमन समितिलाई आवश्यकताका आधारमा थप जिम्मेवारी समेत दिइने निर्णय गरिएको छ ।

सरकारले लकडाउनका समयमा स्थानीय सरकारको नेतृत्वमा खाद्य आपूर्ति गर्ने निर्णय गरेपछि भीमदत्त नगरपालिकाका नगर प्रमुख विष्टले उद्योग बाणिज्य संघ सहित सरोकारवाला निकायसित छलफल गरी खाद्य आपूर्तिका लागि घुम्ती पसल सञ्चालन गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *