भीमदत्त २५ चैत । कञ्चनपुरको भीमदत्त नगरपालिकामा खोप अभियान सुरु भएको छ । शुक्रबार शिव ज्ञानेश्वर आधारभुत विद्यालयमा आयोजित एक कार्यक्रमकाबिच नगर प्रमुख सुरेन्द्र विष्ट र जिल्ला समन्वय प्रमुख फैरु तामाङ्गले खोप अभियानको सुरुवात गर्नु भएको हो ।
नगर प्रमुख विष्टको अध्यक्षतामा भएको खोप अभियान सुरुवात कार्यक्रममा प्रमुख अतिथि समन्वय प्रमुख तामाङ्ग रहेका थिए । भीमदत्त नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख नरेन्द्र राज जोशीले १५ वर्षमुनिकालाई टाईफाईट विरुद्धको खोप लगाईने बताउनु भयो । उहाँका अनुसार खोप अभियान नगरका विभिन्न विद्यालयमा सञ्चालन गरिएको छ ।
अभियान सुरु भएको पहिलो दिन २० प्रतिशत बालबालिकालाई खोप लगाईएको स्वास्थ्य शाखाले जनाएको छ । भीमदत्तमा ३९ हजार सात सय २५ जनालाई खोप लगाईने लक्ष्य रहेकोमा पहिलो दिन आठ हजार एक सय चार बालबालिकालाई खोप लगाईएको छ ।
खोप लगाउनु पर्नेमा विद्यालयमा रहेका ३३ हजार नौ सय ८५ र विद्यालय बाहिर रहेका पाँच हजार सात सय ४० जना रहेका छन् । नगरपालिकाले सबैलाई अनिवार्य रुपमा खोप लगाउन अपिल गरेको छ । एक हप्तासम्म चल्ने खोप अभियानलाई वडामा रहेका आधारभुत स्वास्थ्य केन्द्रहरुमा पनि सञ्चालन गरिनेछ खोपबाट निको हुने रोगलाई शुन्यमा झार्ने अभियानको लक्ष्य रहेको शाखा प्रमुख जोशीको भनाई छ ।