महेन्द्रनगर । भीमदत्त नगरपालिका वडा नं. ११ को भवन निर्माण कार्य सुरु भएको छ । भीमदत्तका मेयर सुरेन्द्र विष्टले शुक्रबार वडा कार्यालय भवन शिलान्यास गरेका छन् ।
नगरपालिकाका सबै वडा कार्यालय भवन बनाउने लक्ष्य अनुसार भवन निर्माण अघि बढाइएको हो । केही वडाका कार्यालय भवन निर्माण गरी उद्घाटन भई सकेका छन् ।
भवन शिलान्यास कार्यक्रममा मेयर विष्टले वडा वासिन्दालाई सहज र व्यवस्थित रुपमा सेवा सुविधा प्रवाह गर्न वडा कार्यालय भवन निर्माणलाई प्राथमिकता दिइएको बताउनु भयो ।
‘आज ११ नम्बर वडाको भवन शिलान्यास भयो, अन्य वडामा भवन निर्माण कार्य जारी छ, सबै वडा कार्यालयका भवन बनाउँछौ’ मेयर विष्टले भन्नु भयो, ‘यसबाट वडाबाट प्रदान हुने सेवा सुविधा व्यवस्थित र सहज होस भन्ने चाहन्छौ ।’
वडा अध्यक्ष प्रेम प्रसाद जैसीको अध्यक्षतामा गरिएको कार्यक्रममा भीमदत्त नगरपासिलकाका उप मेयर सुशिला चन्द सिह, नगर प्रवक्ता हिमाल बहादुर चन्द, कार्यपालिका सदस्यहरु गीता ओली, कमला देवकोटा, प्रशासकीय अधिकृत हरी सिंह धामी, बाल संगठन कञ्चनपुरका अध्यक्ष राम बहादुर बुढा, निर्माण व्यवसायी पदम बोहरा लगायतका सहभागी भएका छन् ।