महेन्द्रनगर, ६ जेठ
भीमदत्त नगरपालिकामा मुक्त हलिया पुनःस्थापना समस्या समाधान समिति गठन गरिएको छ । भीमदत्त नगरपालिका नगर कार्यपालिकाको ४६ औं बैठकबाट नगर स्तरीय समिति गठन गरिएको छ ।
नगर प्रमुख सुरेन्द्र विष्टको संयोजकत्वमा गठित ८ सदस्यीय समितिमा जिल्ला प्रशासन कार्यालय, भूमि सुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, डिभिजन वन कार्यालय, भूमि व्यवस्थापन तथा भवन नियमन शाखाका प्रतिनिधि र संयोजकले तोकेका एक महिला सहित दुई जना मुक्त हलिया सदस्य छन् । समितिको सदस्य सचिवमा भीमदत्त नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छन् ।
सरकारले २०७६ जेठ ६ गते मुक्त हलिया तथा कमैया परिवार पुनःस्थापनाको जिम्मेवारी स्थानीय तहलाई दिएको थियो । त्यस अघि जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा मुक्त हलिया तथा कमैया पुनःस्थापना कार्यक्रम सञ्चालन गरिएको थियो । सरकारले २०७५ भदौ २१ गते तत्कालिन सुदूरपश्चिम तथा मध्यपश्चिम विकास क्षेत्रमा मुक्त हलिया घोषणा गरेको थियो ।