• Tue. Mar 18th, 2025

Bhimdatta Online

News portal from Bheemdatta Municipality Kanchanpur

भीमदत्तले फोहरमैला व्यवस्थापन केन्द्र बनाउँदै, सबै क्षेत्रबाट सहयाेगको प्रतिबद्धता

Byभीमदत्त अनलाइन

२८ फाल्गुन २०७७, शुक्रबार ११:३१ २८ फाल्गुन २०७७, शुक्रबार ११:३१ २८ फाल्गुन २०७७, शुक्रबार ११:३१

महेन्द्रनगर । भीमदत्त नगरपालिकाको एकीकृत फोहरमैला व्यवस्थापन केन्द्र निर्माणमा सबै पक्षबाट सहयोगको प्रतिवद्धता आएको छ । एशियाली विकास बैंकको सहुलियत ऋण सहयोगमा सञ्चालित क्षेत्रीय सहरी विकास योजना अन्र्तगत झण्डै ६० करोडमा फोहरमैला व्यवस्थापन केन्द्र बनाउन लागिएको हो ।

आधुनिक प्रविधिको फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि राजनीतिक दल, जनप्रतिनिधि र नागरिक समाज सबैले योजना सफल बनाउन प्रतिवद्धता गरेका छन् । भीमदत्त नगरपालिकाले आयोजना गरेको छलफल कार्यक्रममा उनीहरुले ठूलो लगानीका योजना सफल बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट भूमिका निर्वाह गर्ने सामूहिक प्रतिवद्धता गरेका छन् ।

छलफल कार्यक्रमबाट केन्द्र निर्माणका लागि सहजीकरण गर्न पत्रकार खेम भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति चयन गरिएको छ । समितिमा गैर सरकारी संस्था महासंघ कञ्चनपुरका अध्यक्ष नरेश सिलाल र अधिकारकर्मी प्रभुनिधि पन्त सदस्य छन् ।

नगरपालिकाले यस अघि भीमदत्त नगरपालिका ११ का अध्यक्ष प्रेम जैसीको संयोजकत्वमा कार्यदल गठन गरि सकेको छ । भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टले आधुनिक सहर बनाउने लक्ष्य अनुसार क्षेत्रीय सहरी विकास योजनाको पहिलो चरणको कार्य अघि बढेको बताउनु भयो ।

‘यो २० वर्षे योजनाको पहिलो चरण अन्र्तगत फोहरमैला व्यवस्थापन केन्द्र सहित अन्यका पूर्वाधार निर्माणका कार्यक्रम छन्’ मेयर विष्टले भन्नु भयो, ‘दोस्रो चरणमा मेघासिटी बनाउने गरी अघि बढ्ने लक्ष्य हो, त्यसका लागि पहिलो चरण सफल बनाउन सबै पक्षको सहयोग आवश्यक छ ।’

मेयर विष्टले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि नगरपालिकाले कार्यदल गठन गरी अघि बढेको जानकारी दिनु भयो । ‘योे ठूलो योजनामा थप सहकार्य र समन्वय गर्न आवश्यक छ, त्यसैले सबै पक्षको साथ सहयोगको अपेक्षा छ’ मेयर विष्टले भन्नु भयो ।

भीमदत्तका उप मेयर सुशिला चन्द सिहले फोहरमैला व्यवस्थापन केन्द्र साझा एजेण्डा भएकाले सबै पक्षको सहयोग चाहिने बताउनु भयो । ‘यो भीमदत्तको साझा एजेण्डा हो, सबै सकारात्मक भएर जानु आवश्यक छ, ’ उप मेयर चन्दले भन्नु भयो, ‘सकारात्मक सोच लिएर अघि बढ्यौ भने यो पूरा हुन्छ ।’

कार्यक्रममा सबै राजनीतिक दलका नेता र जनप्रतिनिधिहरुले केन्द्र निर्माणका लागि सहयोग गर्ने धारणा राखेका छन् ।
नेकपा(एमाले) का नेता शेर बहादुर चन्दले फोहरमैला व्यवस्थापन केन्द्र नगरपालिकालाई आवश्यक भएकाले निर्माणमा सहयोग गर्ने बताउनु भयो । ‘केन्द्र निर्माणमा के कस्ता समस्या छन्, सम्बन्धित क्षेत्रमा गएर पनि त्यस्ता समस्या हल गर्न सकिन्छ’ नेता चन्दले भन्नु भयो ।

नेकपा माओवादी केन्द्रका नेता देबेन्द्र ढुङ्गानाले फोहरमैला व्यवस्थापन केन्द्र बनाउन राजनीतिक दल र जनप्रतिनिधि सबैले सक्रिय रुपमा लाग्नु पर्नेमा जोड दिनु भयो । ‘यसबारे वासिन्दालाई विभिन्न बहानामा उक्साइएको छ, सबैलाई सम्झाई बुझाई गरी यो योजना सफल बनाउन सबै लाग्नु पर्छ’ नेता ढुङ्गानाले भन्नु भयो ।

नेपाली काँग्रेसका नेता पुष्पराज जोशीले फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि स्थानीयलाई बुझाउनु पर्ने आवश्यकता देखिएको बताउनु भयो । ‘अरुले भनेर हुँदैन, विज्ञद्वारा जनतालाई यस सम्बन्धी जानकारी गराउन आवश्यक छ’ नेता जोशीले भन्नु भयो, ‘जनताले माने हामी सहयोग गर्न तयार छौ ।’

काँग्रेसका अर्का नेता अपिलाल जोशीले फोहरमैला व्यवस्थापन केन्द्र बनाउन जनताको सहमति नभई नहुने बताउनु भयो । ‘जनता कन्भेन्स नभएसम्म हुँदैन, जनताको समर्थन भए सहमत हुन्छौ, नत्र हुँदैन ’ नेता जोशीले भन्नु भयो ।

जनता समाजवादी पार्टीका नेता अम्बादत्त तिवारीले सबै राजनीतिक दलहरु केन्द्र बनाउन एक ठाउँमा हुने बताउनु भयो ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता दिल बहादुर नाथले राजनीतिक दल र जनप्रतिनिधिले जनताको हितलाई ध्यान दिएर अघि बढ्नु पर्ने बताउनु भयो । ‘यो नगरपालिका २०३४ मा बनेको हो, अहिलेसम्म फोहर व्यवस्थापन केन्द्र हुन सकेको छैन’ नेता नाथले भन्नु भयो, ‘यो चाहिने हो, त्यसैले यसमा लाग्नु पर्छ ।’

भीमदत्त नगरपालिका पूर्व नगर उप प्रमुख ईश्वरी प्रसाद खरेलले विकास निर्माणमा सबै दलहरु एकजुट भएर अघि बढ्नको विकल्प नभएको बताउनु भयो । ‘अहिले चुनाव जितेका साथीहरुले बनाउन सकेन भने भोलि अर्को जितेर आउनले बनाउनु पर्छ’ पूर्व उप मेयरले भन्नु भयो, ‘त्यसैले विकासमा सबै एक भएर जाऔ, त्यसले सबैलाई फाईदा नै गर्छ ।’

भीमदत्तका वडा नं. ११ का अध्यक्ष प्रेम जैसीले सबै राजनीतिक दलले नगरको केन्द्र निर्माणमा गम्भीर हुनु पर्ने बताउनु भयो । ‘मेरो वडामा केन्द्र बनाउनका लागि उपयुक्त जमिन छैन, नत्र म त्यहीं बनाउँथे’ अध्यक्ष जैसीले भन्नु भयो, ‘यसमा सबै दल गम्भीर हुनु पर्छ ।’

वडा अध्यक्ष जैसीले यस अघि स्थानीयको विरोधका बाबजुद पनि अन्त्येष्टि घाट भुजेला निर्माण गरिएको उल्लेख गर्दै विकास निर्माणमा अनावश्यक विवादले राम्रो सन्देश प्रवाह नहुने बताउनु भयो ।

‘मलाई यस अघि अन्त्येष्टि घाट बनाउँदा पनि विरोध भयो, त्यो चाहिने थियो बनायौ, विरोध हुन्छ, तर त्यसको महत्वलाई बुझेर अघि बढ्नु पर्छ’ वडा अध्यक्ष जैसीले भन्नु भयो ।

भीमदत्त नगरपालिका १८ का अध्यक्ष राजेन्द्र पाण्डेयले राजनीतिक दल र जनप्रतिनिधिले नेतृत्व गरी केन्द्र निर्माणलाई अघि बढाउनु पर्ने धारणा राख्नु भयो ।

भीमदत्त नगरपालिका १९ का अध्यक्ष दामोदर महराले केन्द्र बनाउन उत्तरी क्षेत्रका जमिन भएकाले अन्यत्र केन्द्र बनाउन नसकिने बताउनु भयो ।

भीमदत्त नगरपालिका १० का अध्यक्ष प्रमानन्द जोशीले सहरीकरण बढ्दै गएकाले फोहरमैला व्यवस्थापन केन्द्र निर्माण आवश्यक देखिएको बताउनु भयो । ‘सहरीकरणसंगै फोहर व्यवस्थापनको चुनौती पनि थपिदै गएको छ’ अध्यक्ष जोशीले भन्नु भयो, ‘अहिले केन्द्र निर्माण नगरी हुँदैन, त्यसमा सबैको साथ र सहयोग आवश्यक छ ।’

भीमदत्त नगरपालिका ७ का अध्यक्ष शंकर बहादुर कुँबरले केन्द्र निर्माणका लागि स्थानीयलाई सम्झाउनु पर्ने बताउनु भयो ।

भीमदत्त नगरपालिका ३ का अध्यक्ष राम बहादुर जप्रेलले फोहरमैला व्यवस्थापन केन्द्र बनाउनु पर्ने बताउनु भयो । ‘मेरो त यो केन्द्र हुनु पर्छ भन्ने चाहना हो, त्यसमा सबै सहयोग हुन्छ’ अध्यक्ष जफ्रेलले भन्नु भयो ।

भीमदत्त नगरपालिका नगर कार्यपालिका सदस्य सर्जन सुनारले सबै पक्षको सहयोगमा केन्द्र निर्माण हुने बताउनु भयो ।

कार्यक्रममा निर्माण व्यवसायी योगेन्द्र ठकुराठी, गैर सरकारी संस्था महासंघका अध्यक्ष नरेश सिलाल, अधिकारकर्मी प्रभुनिधि पन्त, पत्रकार खेम भण्डारी, कम्मान सिह विष्ट लगायतले सबै पक्षको सहयोगमा केन्द्र निर्माण भएर भीमदत्तको फोहरमैला व्यवस्थापन हुने अपेक्षा राख्नु भयो ।

भीमदत्त नगरपालिकाको बजार र आशपासका क्षेत्रमा अहिले दैनिक सात दशमलव २९ टन फोहर निस्कने गरेको छ । नगरपालिकाले महेन्द्रनगर बजार सहित आशपासका सात सय घरबाट फोहर संकलन गर्दै आएको छ ।

भीमदत्त नगरपालिकामा दिर्घकालिन रुपमा फोहर व्यवस्थापन गर्न केन्द्र बनाउन लागिएको हो । २०३४ मा स्थापना गरिएको नगरपालिकामा यस अघि डम्पिङ्ग साइड बनाउन पटक पटक प्रयत्न गरिएको थियो । पछिल्लो पटक आधुनिक प्रविधि सहितको केन्द्र बनाएर फोहरमैला व्यवस्थापन गर्ने योजना अघि सारिएको हो ।

क्षेत्रीय सहरी विकास योजना अन्र्तगत महेन्द्रनगर बजार सहित आशपास क्षेत्रमा एक अर्ब लगानीमा नाली सहितका सडक निर्माण सुरु गरिएको छ । योजना अन्र्तगत फोहरमैला व्यवस्थापन केन्द्र र ३६ किलोमिटर आधुनिक सडक बनाउने योजना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *