महेन्द्रनगर, २७ चैत
भीमदत्त नगरपालिकाले लकडाउनलाई मध्यनजर गरी नगरपालिकाकाका लागि विशेष राहत प्याकेज ल्याउन सरकारसित माग गरेको छ । भीमदत्त नगरपालिकाले बिहीबार राजनीतिक दल सहित बैठक गरी राहत प्याकेज घोषणा गर्न माग गरेको हो ।
भीमदत्त नगरपालिकाका नगर प्रमुख स्ुरेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले पश्चिमी सीमा नाका गड्डाचौकी सहित अन्य खुला नाकाका कारण भीमदत्त नगरपालिका कोरोनाको उच्च जोखिममा भएकाले राहत घोषणा गर्न माग गर्ने निर्णय गरेको हो । बैठकमा भीमदत्त नगरपालिकामा हालसम्म गरिएका कोरोना रोकथामका लागि गरिएका प्रयास, त्यसका चुनौती र भावी योजना सम्बन्धि छलफल गरिएको छ ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी लगायत दलका प्रतिनिधि सहभागी बैठकमा भीमदत्त नगर प्रमुख विष्टले कोरोना संक्रमण रोकथामका लागि नगरपालिका सुरुदेखि सक्रिय रुपमा लागेको बताउनु भयो ।
नगर प्रमुख विष्टले पश्चिमी सीमा नाका गड्डाचौकी सहित अन्य खुला नाकाका कारण नगरपालिका कोरोना संक्रमणको उच्च जोखिममा रहेकाले नगरपालिकाले सबै क्षेत्रसित सहकार्य र समन्वय गरी कोरोना विरुद्ध कार्य गरिएको बताउनु भयो ।
‘अहिले विश्वव्यापी रुपमा कोरोना महामारी छ, सीमा नाका, खुला नाका लगायत विभिन्न कारणले नगरपालिकाले उच्च जोखिममा छ, नगर प्रमुख विष्टले भन्नु भयो, ‘एक्लै लड्न अप्ठेरो छ, सबै दलले यसमा सहयोग गरिरहेका छन्, यसका लागि धन्यवाद दिन चाहन्छौ ।’
सत्तारुढ नेकपाका भीमदत्त नगर कमिटी अध्यक्ष रमेश तिरुवा, नेपाली काँग्रेसका नगर सभापति पदमराज अवस्थी, राष्ट्रिय जनता पार्टीका अम्बादत्त तिवारी लगायतले कोरोना संक्रमण रोकथामका लागि भीमदत्त नगरपालिकामा गरिएका कामको सराहना गर्दै सहयोग गर्ने प्रतिवद्धता गर्नु भएको छ ।
भीमदत्त नगरपालिकाका नगर उप प्रमुख स्ुशिला चन्द सिह, नगर प्रवक्ता हिमाल बहादुर चन्द सहित सहभागी बैठकले राजनीतिक दलका प्रतिनिधिहरुको सहभागितामा नगरपालिकामा राहत समेत बाँड्ने निर्णय गरिएको छ ।