महेन्द्रनगर, १७ चैत
भीमदत्त नगरपालिकाका वडाहरुमा सामुदायिक क्वारेन्टाइन स्थापना गर्न थालिएका छन् । नगरपालिकाले महेन्द्रनगरस्थित अनमी सिएमए तालिम केन्द्र( आइसिएच) को भवनमा एक सय शैय्याको क्वारेन्टाइन स्थापना गरेपछि वडाहरुमा सामुदायिक क्वारेन्टाइन बनाउन थालिएका हुन् ।
भीनपा–२ ले उल्टाखाम महोलियास्थित सरस्वती माध्यमिक विद्यालयमा नोभला कोरना भाईरस (कोडिभ १९ ) का संक्रमितहरुका लागि २० शैय्याको सामुदायिक क्वारेनइन तयार गरेको छ । भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले वडा अध्यक्षहरुसित समन्वय गरी कोरोना महामारी रोकथामका लागि वडाहरुमा सामुदायिक क्वारेन्टाइन बनाउन निर्देशन दिनु भएको थियो । नगर प्रमुख विष्टको निर्देशन अनुसार वडा नं. २ मा पहिलो सामुदायिक क्वारेन्टाइन स्थापना गरिएको छ ।
भीमदत्तका नगर प्रमुख विष्टले कोरोना महामारी संक्रमण रोकथामका लागि नगरका सबै वडामा सामुदायिक क्वारेन्टाइन स्थापना गरिने बताउनु भयो । ‘कोरोना संक्रमण महामारी नियन्त्रण, रोकथामका लागि सबै वडामा सामुदायिक क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरिएको छ, त्यस अनुसार वडा नं. २ मा क्वारेन्टाइन स्थापना गरिएको छ, अन्य वडामा स्थापनाका लागि तयारी गरिएको छ’ नगर प्रमखु विष्टले भन्नु भयो,‘सबै वडामा सामुदायिक क्वारेन्टाइन बनाउँछौ ।’
भीमदत्त नगरपालिकाले यस अघि नै आइसिएचमा एक सय शैय्याको क्वारेन्टाइन स्थापना गरि सकेको छ ।
महाकाली अस्पतालको आइसोलेसनमा राखिएका कोरोना पु्ष्टि भएका विरामीलाई अस्पतालको सिफारिशमा क्वारेन्टाइन राख्ने व्यवस्था गरिएको छ । अहिलेसम्म अस्पतालबाट क्वारेन्टाइनमा विरामी सिफारिश गरिएको छैन । कोरोना आंशकामा हालसम्म अस्पतालको आइसोलेसनमा दुई जनालाई राखिएको छ ।
भीमदत्त नगरपालिकामा भारत सहित विभिन्न देशबाट घर फर्किएका वासिन्दाको समेत तथ्याङ्क संकलन गर्न थालिएको छ । भीनपा २ मा विदेशबाट आउने वासिन्दाको तथ्याङ्क संकलन गरिएको छ । वडा कार्यालयका अनुसार कोरोना महामारीपछि वडामा एक सय ६४ जना विदेशबाट घर फर्किएका छन् ।
वडा अध्यक्ष डम्बर कार्की (डिके ) ले विदेशबाट आउने वासिन्दाको लगत संकलन र सरस्वती माविमा क्वारेन्टाइन स्थापना गरिएको बताउनु भयो । ‘विदेशबाट आएका नागरिकको विवरण संकलन गरेका छौँ,’ अध्यक्ष कार्कीले भन्नु भयो, ‘कोरनाको लक्षण देखिए तुरुन्तै क्वारेन्टाईनमा राख्छौँ ।’ वडा कार्यालयलाई क्वारेन्टाइन बनाउन विभिन्न व्यक्ति संस्थाले सहयोग गरेका छन् ।