महेन्द्रनगर, २७ पुुस
भीमदत्त नगरपालिकाको छैठौ नगर सभा सम्पन्न भएको छ । नगर सभा शनिबारदेखि सुुरु भएको थियो । दुई दिनसम्म चलेको नगर सभाबाट तीन ओटा ऐन पारित गरिएका छन् ।
नगरपालिकाको स्वास्थ्य ऐन २०७६, वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धी ऐन २०७६ र दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धि ऐन २०७६ पारित गरिएको नगर कार्यपालिकाका प्रवक्ता राजेन्द्र पाण्डेयले जानकारी दिनु भयो ।
नगर प्रमुख सुरेन्द्र विष्टको अध्यक्षतामा नगर सभा सम्पन्न गरिएको छ । नगर सभामा नगर उप प्रमुख सुशिल चन्द सिह, नगर सभाका सचिव प्रमुख प्रशाकीय अधिकृत पुस्करप्रसाद भट्ट लगायतका नगर सभाका सदस्यहरु सहभागी भएका छन् ।
नगर सभाको पहिलो दिन शनिबार नगरपालिकाका विभिन्न विषगत समितिका प्रतिवेदन र तीन विधेयक प्रस्तुत गरिएका थिए । शनिबार प्रस्तुत गरिएका सबै प्रतिवेदन पारित गरिएका छन् । स्थानीय सरकार सञ्चालन २०७४ मा स्थानीय सरकारले गर्नु पर्ने दुई नगर सभामध्ये दोस्रो पुस महिनामा गरि सक्नु पर्नेछ ।