भीमदत्त ३ चैत । कञ्चनपुुरको भीमदत्त नगरपालिकाको दोस्रो चौमासिकको समिक्षा बैठक सम्पन्न भएको छ । बुधबार नगरपालिकाका विभिन्न शाखाहरुको मंसिरदेखि फागुनसम्मकोे प्रगति समिक्षाबारे छलफल गरिएको हो ।
नगर प्रमुख सुरेन्द्र विष्ट र प्रमुख प्रशासकीय अधिकृत पुस्कर प्रशाद भट्टसहितको विशेष उपस्थितिमा आयोजित समिक्षा बैठकका विषयगत शाखा प्रमुखहरुले प्रस्तुति दिनुभएको थियो ।
शाखाहरुले दोस्रो चौमासिकमा सम्पन्न कार्यक्रम, योजनाको अवस्था, स्वीकृत बजेट तथा खर्च लगायतको विषय प्रस्तुत गर्नुभएको थियो ।
नगरपालिकाका सुचना अधिकारी हरि सिंहले धामीले चालु आर्थिक वर्षको दोस्रो चौमासिकको समिक्षा बैठक सम्पन्न गरिएको बताउनु भयो । उहाँ अनुसार विषयगत शाखा प्रमुखहरुले चौमासिक प्रगति प्रस्तुत गरेका थिए । साथै बैठकमा कार्य सम्पादनमा देखिका समस्या, चुनौती विषयमा पनि छलफल गरिएको थियो ।
नगरपालिकाले सेवा सम्पादनलाई चुस्त, दुरुस्त र थप प्रभावकारी बनाउन नियमित रुपमा समिक्षा बैठक गदैँ आएको छ । बैठकमा कार्य सम्पादनको अभिलेखिकरण गर्न जोड दिईएको थियो ।
नगर प्रमुख सुरेन्द्र विष्टले नगरपालिकाले गरेका कार्यको अभिलेखिकरण, सहकार्य, साझेदारीको दस्तावेजिकरण गर्न र अन्तर शाखा समन्वयमा जोड दिनु भयो ।
‘शाखाहरुले काम गरिरहेका छन्, त्यसको यकिन विवरण, तथ्याङ्क हामीसँग छैन् ।’ उहाँले भन्नुभयो ‘नगरपालिकाले गरेका कामहरुको व्यवस्थित अभिलेख राख्नुुस्, केही समस्या चुनौतीहरु भए छफलफ सहकार्यको माध्यमबाट टुङ्याएर अघि बढौँ ।’
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत भट्टले पालिकाले सेवालाई अझै प्रभावकारी र शाखागत प्रगतिलाई बढाउने प्रतिवद्धता जाहेर गर्नुभयो ।